विराटनगर : लैङ्गिक हिंसा न्यूनीकरण गर्न औपचारिक रूपमा आयोजना गरिने १६ दिने अभियान मात्र पर्याप्त नहुने नेपाली समाजमा विद्यमान लैङ्गिक हिंसाको प्रवृत्ति अन्त्य गर्न सामूहिक प्रयास जरुरी भएकोमा जोड दिइएको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको क्रममा सोमवार आयोजित महिलाहरूको बृहत् र्‍याली प्रदर्शनमा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भने ‘लैङ्गिक हिंसा रोक्न १६ दिने अभियानले मात्र पुग्दैन, घर घरमा सचेतना पुर्‍याउन जरुरी छ ।’

त्यसका लागि नेपाली समाजमा विद्यमान लैङ्गिक हिंसाको प्रवृत्ति अन्त्य गर्न यस्ता अभियान हरेक दिन हुनुपर्ने र त्यसमा सबैको सामूहिक प्रयास जरुरी भएकोमा उनले जोड दिए । लैङ्गिक हिंसामा परेकाहरूले महानगरपालिकाको न्यायिक समिति उजुरी मेयर कोइरालाले अपिल गरे ।

उपमेयर शिल्पा निराला कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको बताउँदै कोही पनि पुरुष हिंसामा परेको भए न्यायिक समितिमा उजुरी दर्ता गर्न आग्रह गरिन् । लैङ्गिक हिंसाको कुरा गर्दा महिला मात्रै होइन पुरुष पनि हिंसामा परेको सन्दर्भ बुझ्नु पर्ने उनको भनाई छ ।

यसअघि महानगरपालिका परिसरबाट मेयर कोइरालाको नेतृत्वमा सुरु भएको र्‍याली रेडक्रस चोक, जिल्ला प्रशासन चोक, शहीद रङ्गशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालय रोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।र्‍यालीमा माइती नेपाल, एवीसी नेपाल, ओरेक नेपाल, नारी विकास संघ, इन्सेक, कोकन, कोसी नर्सिङ कलेज, स्काउट, महेन्द्र मोरङ क्याम्पस, नेपाल प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज, नगर बाल क्लबलगायतका गैसस महासङ्घ मोरङ र मानवअधिकार सञ्जालमा आबद्ध रहेका सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिसहित १५ सयभन्दा बढीको सहभागिता थियो ।

‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ नाराका साथ मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा सङ्घसंस्थाको संयोजनमा लैङ्गिक हिंसा विरुद्ध लक्षित कार्यक्रम आयोजना हुनेछ ।

कोणसभामा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, काजीबहादुर बस्नेत, कुमार पोखरेल, जितन थापा, तीर्थेन्द्र न्यौपाने लगायत सहभागी थिए ।