इटहरी : सामाजिक सुरक्षा दिवसको अवसरमा सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईँ सहित ५ जना सम्मानित भएका छन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका हुन् ।

सम्मानित भएका मध्ये सुन्दरहरैचाका मेयर गुरागाँइले भने आफ्नै पालिकाका ३५ कर्मचारीलाई सामाजिक सुरक्षा कोषबाट वञ्चित गराएका छन् । गत वर्ष २८ जना र यस पटक ७ जना गरी ३५ जनालाई सामाजिक सुरक्षा कोषबाट हटाएका हुन् ।

करारमा रहेका कर्मचारीलाई ज्यालादारी बनाउने र पछि पुनः करारमा सम्झौता गरेर सामाजिक सुरक्षाको सुविधाबाट वञ्चित गराएको पाइएको छ । चालु आर्थिक वर्षमा सचिन आचार्य, अर्जुन पोखरेल, लक्ष्मी पोखरेल, भगवती पराजुली, दिनेशकुमार घिमिरे, नवराज पोखरेल र सानोबाबु राईको नवीकरण सामाजिक सुरक्षा नवीकरण नगरिएको हो ।

आफ्नै कार्यालयका कर्मचारीको सामाजिक सुरक्षा हटाउने मेयरलाई नेपाल सरकारले सम्मान गरेको हो । सम्मानित भएसँगै मेयर गुरागाँइले सम्मानको कारण स्वयम् नेपाल सरकारलाई थाहा हुने प्रतिक्रिया दिएका छन् । नवीकरण नगरिएको विषयमा आफू जानकार नभएको उनको भनाइ छ ।

उनीसँगै सम्मानित हुनेहरूमा बेलबारीका मेयर दिलप्रसाद राई, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भिमफेदीका अध्यक्ष हृदम लामा र बाँसगढी नगरपालिकाका मेयर खड्गबहादुर खड्का छन् । सम्पूर्ण पालिका प्रमुखहरूलाई सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सम्मान गरिएको हो ।