धरान : बुटवलमा शुक्रवारबाट नयाँ हल फ्रेन्डस् सिनेमाज् औपचारिक रूपमा सञ्चालनमा आएको छ । २२२ सिट क्षमताको यो हल अमरपथ स्थित सिंह कम्प्लेक्समा छ ।

धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रूपमा ल्याइएको यो हल रोयल सिने हब प्रालिले सञ्चालन गरेको हो । चलचित्र वितरणमा समेत सक्रिय तीन युवा आशिष तामाङ, प्रदीप धामी र पुष्कर घिमिरेले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड बिस्तार गर्ने क्रममा बुटवलमा यो दोस्रो हल सञ्चालन गरेका हुन् ।

आफूहरूले नयाँ व्यवस्थापन,अत्याधुनिक प्रविधि तथा दर्शकलाई विविध सेवासुबिधा र सहुलियतका साथ हल सञ्चालनमा ल्याएको जानकारी सञ्चालक मध्येका एक आशिष तामाङले दिए ।

उनले हल खोलेको उपलक्ष्यमा पहिलो साताभरि टिकट दर १५० राखिएको बताए । बिहानी शो, मङ्गलवार र बुधवारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ ।

दैनिक ६ शोसम्म चलाउन सकिने भ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाज्का रूपमा आएको छ । हलमा नेपाली फिल्मलाई नै प्राथमिकता दिने दाबी सञ्चालक टिमको छ।

हल सञ्चालनसँगै फिल्म वितरणमा समेत छोटो समयमै आफूलाई स्थापित गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसन मार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म वितरण गरिसकेको छ भने अब ‘उनको स्विटर’,‘बलिदान’,‘रेशम फिरिरि’ लगायतका फिल्म दर्शकमाझ ल्याउदैछ ।

फिल्म वितरणसँगै भविष्यमा फिल्म निर्माण अनि देशका अन्य स्थानमा फ्रेन्डस सिनेमाज् बिस्तार गर्ने योजना टिमको छ ।

Friends cinemas