इटहरी : नेपाली काँग्रेसका पालिका सभापतिहरूको प्रथम भेला १८ गते विराटनगरमा हुने भएको छ । कोशी प्रदेश भरिका पालिका सभापतिहरूको भेलामा १२० बढी पालिका सभापतिहरूले सहभागिता जनाउने भएका हुन् ।
काँग्रेस वरिष्ठ नेता डाक्टर शेखर कोइराला र केन्द्रीय सदस्य एनपी साउदले सम्बोधन गर्ने भएका छन् । सभापति देउवा निकट मानिएका साउदले १५औँ महाधिवेशनमा डाक्टर कोइरालालाई सभापति बनाउने गरी तयारी गरेका छन् । सुदूरपश्चिमका प्रभावशाली नेता साउदको आगमनले कोइरालालाई महाधिवेशन सहज हुने अनुमान गरिएको छ । युवाहरूमाझ प्रभावशाली मानिएका बालकृष्ण खाँडले यसअघि देखि नै कोइरालालाई सघाउने गरी आन्तरिक लबिङ गरिरहेका छन् ।
मोरङका १२ वटा पालिका समिति आयोजक रहेको भेलाको खुल्ला सत्र विराटनगरको जैन भवनमा हुने भएको छ । बन्द सत्रको लागि बेलबारीमा व्यवस्थापन गरिएको विराटनगर महानगर सभापति दीपक चापागाँइले बताए ।
समयमै महाधिवेशन गर्न पालिका सभापतिहरू तयार रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना भएको उनले जानकारी दिएका छन् ।