इटहरी : नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य डाक्टर बद्री विशाल पोखरेलले मङ्लबार पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्ने भएका छन् ।
कोशी प्रदेशसभा सदस्य रेवती रमण भण्डारीलाई एमालेले मन्त्री बनाएपछि रुष्ट भएका उनले पार्टी परित्यागको घोषणा गर्ने बताए ।
भण्डारी सोमवार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री चयन भएका छन् ।
लामो समय देखि भण्डारी प्रति रुष्ट हुँदै आएका उनीहरू बिच गत जेठमा सम्पन्न सुनसरी जिल्ला सम्मेलनमा पनि लफडा भएको थियो ।
अध्यक्ष भण्डारीको प्रतिवेदनमा पोखरेललाई कारबाहीको सिफारिस गरेपछि विवाद बढेको हो ।
हाल कोशी प्रदेशको ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य रहेका उनले एमाले भ्रष्टको पार्टी भएको कारण परित्याग गर्न लागेको बताएका छन् । कपुरी न्युजसँग कुरा गर्दै उनले भने, ‘एमाले सप्रिन्छ कि भनेर सोचेको तर त्यो सम्भव भएन । दुखका साथ पार्टी छाड्न लागियो ।
भण्डारी जस्ता विकृत मानसिकताका भएका मान्छेलाई बोक्न जरुरी छैन । प्राध्यापक लाई कुट्दै हिँड्ने र नियमित रक्सी सेवन गर्ने व्यक्तिलाई मन्त्री बनाएको पार्टीमा म बस्दिन ।’ यसअघि भागेर भन्दा पनि लडेर सामना गर्ने अठोट लिएको तर अन्ततः हार खानुपरेको उनको भनाइ छ ।
कोशी प्रदेश सरकारका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले जापानमा मानव तस्करी गरेको आरोप लागेपछि राजीनामा दिएका थिए । पार्टीबाट निलम्बनमा परेका अधिकारीलाई कारबाही नभए पनि रिक्त रहेको मन्त्रालयमा एमालेले भण्डारीलाई पठाएको हो ।