धरान : धरान-१७ स्थित माउण्ट मोरिया स्कुलका शिक्षक असित ठकुरीलाई छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ ।
धरान इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश लिम्बुका अनुसार विद्यार्थी अभिभावकले शिक्षकलाई छात्राहरूलाई यौन दुर्व्यवहार गर्दै आएको भनी कुटपिट गरेपछि शिक्षक ठकुरीलाई पक्राउ गरिएको हो ।
शिक्षक ठकुरी विरुद्ध अभिभावकहरूले मङ्गलवार बाल यौन दुरुपयोगमा जाहेरी दर्ता गरेपछि अनुसन्धानका लागि आजै सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको उनले बताए ।
शिक्षक ठकुरीले कक्षा ७ देखी १० सम्मका ७ जना छात्राहरूलाई ढाड सुमसुम्याउने, गोप्य अङ्ग देखाउने, स्तन र शरीरमा छाम्ने, अश्लील भिडियो पठाउने, सामाजिक सञ्जाल फेसबुकमा छात्राहरूको फोटोमा सेक्सी, कस्तो राम्रो फिगर जस्तो लखेर पठाउने, नग्न फोटो पठाउने जस्ता क्रियाकलाप गर्ने गरेको विद्यार्थीहरूले बताएका छन् ।
एक छात्राले भनिन ‘सरले ढाडमा सुमसुम्याउने, स्तन छुने, अश्लील भिडियो पठाउने गोप्य अङ्ग चलाउने गर्नुहुन्थ्यो ।’
विद्यार्थीहरूका अनुसार विद्यालयको अफिसमा गएर ‘सर र मिसहरू’लाई पटक-पटक गुनासो गर्दा पनि कुनै कारबाही भएन । स्कुलमा सबै स्टाफ प्रिन्सिपलका आफन्त भएकाले विद्यार्थीको कुरामा वास्ता नगरेको आरोप लगाएका छन् ।
उनीहरूको भनाई छ ‘हामीले शुक्रवार नै विद्यालय प्रशासनमा गएर कम्प्लेन गर्यौँ तर बेवास्ता गर्दै सोमबार सम्म केही नगरेपछि अभिभावक भेला गरी शिक्षकलाई सम्झाउँदा भनाभन भएको हो ।’ त्यसैलाई विद्यालयले शिक्षक कुटपिट गर्यो भनी प्रहरीमा रिपोर्ट गरेको उनीहरूले बताए ।
शिक्षकलाई कारबाही गर्न खोज्दा लफडा भयो : प्रिन्सिपल तामाङ
शिक्षक असित ठकुरीले गरेको यौन दुर्व्यवहारको विषयमा प्रिन्सिपल प्रताप तामाङसँग सम्पर्क गर्दा उनले भने ‘विद्यार्थीहरूलाई भेट्दा के छ भनेर सोध्दा ठिकै छ भन्ने गरेका थिए तर एक्कासि शुक्रवार स्कुल बिदा हुने बेलामा विद्यार्थीहरू कम्प्लेन गर्न आए ।’
कम्प्लेन आएपछि तुरुन्त शिक्षक ठकुरीलाई फोन गरेर स्कुलमा बोलाएकोमा उनले ‘अहिले भ्याउँदिन’ भनेको र भोली पल्ट शनिवार परेकोले आइतबार छलफल गर्न खोज्दा पनि नआएको प्रिन्सिपल तामाङले बताए ।
तामाङले भने ‘विद्यार्थीहरूले पनि खुलेर घटना भनेनन् मैले पनि त्यसलाई सिरियस पनि लिइन ।’ सोमबार घटना विवरण थाहा पाएपछि शिक्षक ठकुरीलाई बोलाएर छलफल गर्दा अभिभावक र शिक्षक बिच भनाभन भएको उनले बताए ।
भनाभन भएको अवस्थामा इलाका प्रहरी कार्यालयले शिक्षक पक्राउ गरेर लगेको बताउँदै प्रिन्सिपल तामाङले भने ‘गलत गर्ने शिक्षकलाई कारबाही गर्नु पर्दछ ।’ विद्यार्थीले खुलेर सबै कुरा भनेको भए आफैले शिक्षकलाई कारबाहीका लागि सिफारिस गर्ने थिएँ भनी उनले बताए ।
भिडियो :