धरान : प्रहरीले मङ्गलवार साँझ पक्राउ गरेको गाँजा तस्करीमा प्रयोग गरिएको २ वटा गाडीमा सरकारी नम्बर प्लेट नक्कली लगाएको पुष्टि भएको छ ।
सरकारी नम्बर प्लेटको २ वटा गाडीमा करिब ६९० केजी गाँजा प्रहरीले पक्राउ गरेको थियो । उक्त सरकारी नम्बर प्लेट लगाइएको गाडी सरकारी नभएको आज बिहीबार इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको हो ।
गाँजा ल्याउन प्रयोग गरिएको सरकारी नम्बर प्लेट भएको दुई वटा गाडीको चेसिस नम्बर र इन्जिन नम्बर कुनै यातायात कार्यालयमा दर्ता नभएको समेत पाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले चार राउन्ड गोलीसमेत चलाएर गाडी नियन्त्रणमा लिएको थियो ।
गाँजा कारोबारीले सुनसरी मै पहिलो पटक सरकारी किर्ते नम्बर प्लेट राखेर चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
प्रहरीले धनकुटाबाट गाँजा लिएर धरान आउँदै गरेको सरकारी नक्कली नम्बर प्लेट भएको बा १ झ ४६०५ नम्बरको स्कारपियो र बा १ झ ५१२७ नम्बरको कार मङ्गलवार राति रोकेर चेक गर्ने क्रममा गोली चलाएर नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको दुवै गाडीको च्यासिस नम्बर र इन्जिन नम्बर हालसम्म दर्ता भएका गाडीहरूको हो कि होइन भन्ने यकिन हुन नसकेको र थप विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।
गाँजा सहित नियन्त्रणमा लिइएको गाडीलाई मुलुकी अपराध संहिताको परिच्छेद-२५ को दफा २७६ को उपदफा २ को ‘ख’ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए ।
सरकारी किर्ते नम्बर भएको बा १ झ ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परेका छन् । अर्का चालक गाडी छाडेर फरार भएकोले तीव्र खोजी भइरहेको डिएसपी जबेगुले बताए ।