धरान : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको खराब पक्षहरूको बारेमा बोल्न, आलोचना गर्ने छुट भएको बताएका छन् ।
काँग्रेस धरान उपमहानगर समितिद्वारा आज शुक्रवार आयोजित वृहत् कार्यकर्ता भेला तथा गिरिराज आचार्यद्वारा लिखित पुस्तक ‘वीपी कोइरालाका साहित्यिक विचारहरू’को विमोचन र सम्मान, पुरस्कार वितरण कार्यक्रममा उनले भने ‘नेपाली काँग्रेस पार्टी लोकतान्त्रिक पार्टी भएकोले पार्टीको खराब पक्षको बारेमा बोल्न, विरोध गर्न पाइन्छ ।’
सभापति देउवाले स्वास्थ्य आलोचना पार्टीमा सुधार गरी पार्टीलाई बलियो बनाउने सुझावको रूपमा लिइने बताए । उनले भने ‘पार्टीलाई जीवन्त बनाउन स्वास्थ्य आलोचना हुनुपर्छ जसले पार्टीका सबै साथीहरू एकजुट बनाउन सकियोस् ।’ अहिले काँग्रेस एक जुट हुन जरुरी भएको सभापति देउवाको भनाई थियो ।
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस संस्थापक नेता वीपी कोइरालाको विचारहरू सङ्कलित पुस्तक विमोचन गर्दा खुसी लागेको बताउँदै उनले सभापति देउवाले भने ‘पुस्तक पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शक बन्ने विश्वास गरेको छु ।’
गृहमन्त्री रमेश लेखकले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर रहेको बताए । उनले भने ‘सरकार संविधानको मर्म अनुसार अगाडि बढ्छ, संविधानले प्रत्याभूति गरेको प्रेस स्वतन्त्रताको विषयमा हामी गम्भीर छौँ ।’
गृहमन्त्री लेखकलाई आजै नेपाल पत्रकार महासङ्घ सुनसरीले धरानमा नगर प्रमुख हर्कराज राईले पत्रकारविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । गृहमन्त्रीले भने ‘लोकतन्त्रमा प्रेस पूर्ण रूपमा स्वतन्त्र हुनुपर्छ त्यसको लागि तिनै तहको सरकार गम्भीर हुनुपर्छ ।’
काँग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले वीपीको विचार काँग्रेसका लागि मात्र नभई समग्र पार्टी तथा आम मानिसको लागी पनि प्रेरणाको स्रोत हुने उल्लेख गरे ।
पुस्तकमा वीपीका अन्तरवार्ताहरूलाई समेटेर विषय छुट्याइ एकै ठाउँमा दिनु ठुलो मेहनत भएकोले पुस्तक धेरै काम लाग्ने र उपयोगी भएको उल्लेख गर्दै कार्कीले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा गिरीराज आचार्यद्वारा लिखित ‘विपि कोइरालाका साहित्यिक विचारहरू’ पुस्तक पूर्व प्रधानमन्त्री देउवा, गृहमन्त्री रमेश लेखक, केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की लगायतले विमोचन गरेका थिए ।
नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेसका सहमहामन्त्री भीष्मराज आङदाम्बे, पूर्व मन्त्री प्रकाश सरण महत, पुर्वमन्त्री तथा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, डिला सङ्ग्रौलाले नेपाली काँग्रेस मात्र मुलुकको लोकतन्त्र, समृद्धिका लागि निर्णायक रहेको बताए।
कार्यक्रममा राजीव कोइराला, राजीव ढुङ्गाना, लक्ष्मी खतिवडा, धरान उपमहानगरपालिकाको पूर्व नगर प्रमुख तिलक राई, वराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्की लगायत पार्टीको सबै नेताहरू लगायतको उपस्थिति थियो ।