धरान : देवानगञ्ज-७, पक्की टोलका झल्लु उराँवको टिप्परको ठक्करबाट मृत्यु भएकोमा चालकले ठक्कर दिएपछि पुनः घुमाएर किचेको आरोप लगाउँदै स्थानीयले टिप्पर घेराउ गरेपछि हरिनगरमा तनाव उत्पन्न भएको छ ।
टिप्परले ठक्कर दिँदा ५५ वर्षीय उराँवको घटनास्थलमै मृत्यु भएको थियो । उनको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ । भिड नियन्त्रण गर्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
मृतक हरिनगर-४ स्थित सिटिजन बैङ्कको उत्तर सडकमा दुर्गा मन्दिरतिर जाँदै गर्दा टिप्परले ठक्कर दिएको थियो ।
स्थानीयले टिप्पर चालकले ठक्कर दिएपछि सवारी घुमाएर उराँवलाई किचेको आरोप लगाएका हुन । उनीहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
टिप्परका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिनगरले जनाएको छ ।