विराटनगर : नेपाल सरकारले नेपाली काँग्रेसका सहमतिमा मित्रराष्ट्र चीनसँग बिआरआइ सम्बन्धी थप सम्झौता गरेको बताउँदै गृहमन्त्री रमेश लेखकले यसमा अन्यथा मान्ने कुनै कुरा नभएको बताएका छन् ।
उनले भने ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धी थप सम्झौता नेपाली काँग्रेसको धारण सल्लाह र सहमतिमा गरेको हो ।’
नेपाली काँग्रेस कोसी प्रदेश प्रथम सम्मेलनको आज शनिवार बिहान भएको उद्घाटन समारोहमा उनले भने ‘बीआरआइ सम्झौता काँग्रेसको सहमतिमा भएकोले यसमा अन्यथा सोच्न जरुरी छैन ।’
गृहमन्त्री लेखकले मुलुकको समग्र विकासका लागि आर्थिक सहायता लिन आवश्यक भएकाले काँग्रेसले ऋण लिन्न भनेर भनिसकेको बताए । उनले भने ‘प्रधानमन्त्रीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ, अब यसको ठिक कार्यान्वयनमा लाग्नुपर्छ ।’
काँग्रेस र एमाले मिलेर बनेको राजनीतिक समीकरणको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेकोले त्यसै धरातलमा उभिएर सङ्घ र प्रदेशमा सरकार गठन भएको गृहमन्त्रीले बताए ।
उनले भने ‘यो समीकरण कहीँ मान्छेलाई मन्त्री बनाउन बनेको होइन ।’ समीकरण राजनीतिक स्थायित्वका लागि बनेको उनको भनाई छ । यसले भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको गृहमन्त्रीले बताए ।
उनले भने ‘संविधान संशोधनको विषय उठेको छ, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा समावेशितालाई थप उन्नत बनाउन संविधान संशोधनको कुरा आएको हो ।’
संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भएको उनले बताए । काँग्रेस र एमालेले सत्ता समीकरणलाई २०८४ को निर्वाचन सम्म लैजानु पर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।
गृहमन्त्री लेखकले भने ‘सङ्घीय गणतन्त्र व्यवस्थामाथि आक्रमण हुँदै छ, संविधानलाई भइरहेको आक्रमणबाट सुरक्षित गर्नु काँग्रेसको पहिलो दायित्व हो ।’ काँग्रेस बलियो नभए लोकतन्त्र र सङ्घीय गणतन्त्र बलियो हुँदैन ।