धरान : खोज पत्रकारिता केन्द्रको खोजमूलक समाचार ‘हिमाल खबर’मा प्रकाशित गरेका गोपाल दाहाललाई धरानका नगर प्रमुख हर्क साम्पाङका समर्थकले ‘ज्यान’को धम्की दिएपछि नेपाल पत्रकार महासङ्घले मङ्गलवार इलाका प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रमुख साम्पाङले समाचारको विषयमा पत्रकार दाहाल र पत्रकार महासङ्घका सभापति जनकऋषि राईलाई धम्कीपूर्ण भाषामा गाली गलौज गरेपछि सुनसरीका पत्रकार आन्दोलित छन् । उनीहरूले इलाका प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन् भने गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोही विषयमा मिडिया तथा सामाजिक सञ्जालमा आइरहेको समाचारलाई लिएर नगर प्रमुख साम्पाङका समर्थकले आइतबार पत्रकार दाहाललाई ‘तेरो दिन धेरै छैन’ धम्की दिदैं म्यासेज गरेका छन् ।

मोबाइल नम्बर ९७०७३६८७०७ बाट ‘व्हाट्स एप’मा आएको उक्त म्यासेजमा ‘ज्यान’ सम्बन्धी धम्की सहित प्रमुख साम्पाङको विरुद्ध लेखेकोमा राम्रो काम गर्नेलाई राम्रो गर्न नदिएको भनिएको छ ।

पत्रकार दाहाल र राईलाई प्रमुख साम्पाङ र उनका समर्थकहरूले दिने धम्कीले सिङ्गो पत्रकारिता क्षेत्रलाई आतङ्कित पारेको, समाजमा अराजकता र आतङ्क फैलाउने काम भइरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मी प्रसाद रेग्मीलाई पत्रकार महासङ्घ सुनसरीले मेयर साम्पाङद्वारा धरानका पत्रकारहरू असुरक्षित भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन ।

पत्रकारहरूको टोलीले प्रशासन प्रमुख रेग्मीसँग कानुन विपरीत कार्य गर्ने, समुदायलाई आतङ्कित पार्ने जुन सुकै व्यक्ति र पदीय मर्यादामा रहेका जोसुकै भए पनि कानुनी नियन्त्रणमा लिएर सजायको भागिदार बनाउनु पर्ने माग गरेका छन् ।