विराटनगर : रोजगार खोजिरहेका रोजगारदाता र रोजगारी खोजी रहेका बेरोजगारहरूलाई एकै ठाउँमा जुटाउन महानगरपालिकाले दोस्रो पटक यसपालि पनि विराटनगरमा ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ ।

मेला पुस १ र २ वीरेन्द्र सभा गृह दक्षिण स्थित इको पार्कमा आयोजना गर्न लागेको हो । मेलाको बारेमा मङ्गलवार मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्कीले निजी क्षेत्रका रोजगारदाताहरू सँग छलफल गरेका छन् ।

छलफल नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी, नेपाल उद्योग परिसंघ, उद्योग सङ्गठन मोरङ, मोरङ उद्योग व्यापार सङ्घ, विराट व्यापार सङ्घ, तालिम प्रदायक महासङ्घ, होटेल व्यवसायी सङ्घका प्रतिनिधिहरू सँग गरेको हो ।

सहभागीहरूले छलफलमा मेला उपलब्धि मूलक बनाउन सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । मेलामा ३० वटा स्टल रहने महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिएका छन् ।