धरान : नेपाली कांग्रेसका पार्टी कार्यकर्ता गाउँ गाउँ पुगेर जनतासँग स्थानीय समस्याका बारेमा संवाद गर्ने १०० दिने अभियान सुनसरी क्षेत्र नं १ मा पनि जारी छ ।

अभियानको क्रममा कांग्रेस प्रदेश समितिले खटाएका प्रतिनिधिहरूले  वडा÷गाउँ÷नगर÷निर्वाचन क्षेत्रका पार्टी कार्यकर्तासँग भेटघाट गरी छलफल गर्ने क्रम जारी राखेका छन् ।

यसैक्रममा मङ्गलवार सुनसरी–१ को धरानमा कांग्रेस प्रदेश कार्यसमितिले खटाएका प्रतिनिधिद्धय केशव भट्टराई र सूर्य  राईले धरानमा पार्टी पदाधिकारी कार्यकर्तासँग छलफल गरेका छ ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा उनीहरूले कांग्रेस केन्द्रीय समितिले घोषणा गरेको १०० दिने अभियान र कोशी प्रदेश समितिले घोषण गरेको कचनकवलदेखि सगरमाथा अभियानका बारेमा जानकारी गराए ।

प्रमुख अतिथि पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सदस्यत्रय केशव भट्टराई, सूर्य राई र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १ सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेलले आआफ्ना भनाई राखेका थिए ।

सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरे । कांग्रेसका प्रदेशसभा २ सभापति मुरारी भट्टराई, महाधिवेशन प्रतिनिधिहरू चित्रकुमारी राई, ललिता अधिकारी र निलकुमारी गिरी, जिल्ला सदस्य सरिता सुब्बा, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी लगायतको उपस्थिति थियो ।