झापा : झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुवाहक बसले तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका वडा न.५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश १-०२-००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो ।

सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश १-०१-०२ ह ९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो ।

दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका वडा ३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक तत्काल नाम थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका वडा ३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश १-०१-००२च. ८४० नम्बरको कार चालक सङ्खुवासभा थोतखोला गाउँपालिका वडा २ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका छन् ।

सामान्य घाइतेहरूको निम्स अस्पताल दमक र गम्भीर घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

Jhapa Bus accident  (2)Jhapa Bus accident  (1)