झापा : झापा बिर्तामोडको डोलालाल राजवंशी रङ्गशालामा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए ।
मैदानको मध्य भागमा सिङ्गल खेल्दै बललाई पोस्टको दिशा दिए ।आर्मीका लागि अर्को गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो ।
वैकल्पिक खेलाडी दिशान्त राईले नीरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा नीरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् ।मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चौधरीले गरेको प्रहार गोलरक्षक अरुण बेलोनले बचाउन सकेनन् ।खेलमा मोरङले खासै मुभ बनाउन सकेन ।
खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दिपेश आले मगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए ।
उनले नगद १० हजार पुरस्कार पाए ।भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।
मुख्यमन्त्रीद्वारा उद्घाटन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्तरीय क्लबले आयोजना गरेको झापा कप प्रतियोगितामा प्रदेश सरकारले उचित सहयोग गर्न नसकेको बताए ।
उनले प्रदेशको स्रोतले भ्याएसम्म यो प्रतियोगितालाई सहयोग गर्ने बचनबद्धता समेत प्रकट गरे । उनले डोलालाल राजवंशी रङ्गशालालाई सुविधा सम्पन्न रङ्गशाला बनाउने योजना प्रदेश सरकारको रहेको सुनाए ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली काँग्रेसका सभापति देउकुमार थेबे, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनलगायतको आतिथ्य रहेको थियो ।
बिर्तामोडका फुटबलप्रेमीहरुको चाहना अनुसार यो वर्षदेखि झापा कप आयोजना हुन थालेको हो । झापा गोल्ड कप आयोजना गर्दै आएको समूहले नै झापा कप आयोजना गरेको हो ।