धरान : पूर्वका व्यास उपनाम पाएका संस्कृतका विद्वान स्वर्गीय पण्डित छविलाल पोखरेलका पुराना छुट्टा छुट्टै प्रकाशित पुस्तकहरू एकै ठाउँमा सङ्कलन भएको नयाँ संस्करण प्रकाशित भएको छ ।

बजारमा अप्राप्य पुरानो प्रविधि लेटर प्रेसको जमानाका प्रकाशित संग्रहनीय पुस्तक शनिवार पिण्डेश्वर विद्यापीठको ७३ओैँ वार्षिकोत्सवको अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. भीमप्रसाद खतिवडाले विमोचन गरेका छन् ।

‘पण्डित छविलाल पोखेल संस्मरण ग्रन्थ’ भाग–१ नामकरण गरिएको पुस्तक छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले प्रकाशित गरेको हो ।

पण्डित छविलाल पोखरेल विद्यापीठका संस्थापक हुन । वार्षिकोत्सवको अवसरमा विमोचन गरिएको पुस्तकको समीक्षा गर्दै उपप्रा. दीपक न्यौपानेले ५० वर्ष भन्दा अघि प्रकाशित विद्वान गुरुका अप्राप्य (आउट अफ प्रिन्ट) संग्रहित गरेर प्रतिष्ठानले ऐतिहासिक कार्य गरेको बताए ।

सोही अवसरमा ‘छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानका’ अध्यक्ष डा. नारायणप्रसाद पोखरेललाई विद्यापीठले सम्मान गरेको छ । साथै विद्यापीठको शैक्षिक प्रगतिमा सेवा पुर्‍याउन अक्षयकोषका संस्थापकहरू प्रा. केदारनाथ गौतम विराटनगर, श्रीमती श्रोता भण्डारी धरान, श्रीमती राधा न्यौपाने सिक्किम, सोमेन्द्र गौतम काठमाडौँ, प्राध्यापक नारायणप्रसाद शर्मा कट्टेल, श्रीमती चित्रमाया वर्मा धरान सम्मानित भएका छन् ।

वर्षेनी विद्यापीठद्वारा प्रदान गरिने सम्मानबाट सहप्रा. कृष्णप्रसाद शर्मा सम्मानित भएका छन् । संस्कृत अध्यापन केन्द्रलाई प्रदान गरिने सम्मान चन्द्र संस्कृत मावि धरान-१६ लाई प्रदान गरिएको छ ।

उक्त अवसरमा प्रमुख अतिथि शिक्षाध्यक्ष प्राडा खतिवडाले विश्वविद्यालय र विद्यापीठको विकासका लागि सबै सकारात्मक बन्नुपर्ने बताए । उनले पाठ्यक्रम समयानुकूल परिमार्जन गर्दै जाने नीति विश्व विद्यालयको रहेको बताउँदै भने ‘विश्व विद्यालयका प्राध्यापक र विद्यार्थी अनुसन्धानशील बने मात्र विश्वविद्यालय गतिशील बन्न सक्छ ।’

कार्यक्रममा विद्यापीठ प्राध्यापक सङ्घका सभापति सागरमणि सुवेदी, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख सहप्रा चन्द्रकुमार राई, स्ववियु सभापति एनिस रेग्मी, मुरारी सुबेदी, नारायणप्रसाद पोखरेल, पत्रकार किशोर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यापीठ प्राचार्य सहप्रा. काशीनाथ पौडेलको सभापतित्व भएको वार्षिकोत्सव समारोहमा विद्यापीठमा भएको सप्ताहव्यापी खेलकुद हाजिरी जवाफ, कविता, स्पेलिङ, श्लोक अन्त्याक्षरी सहितका साहित्यिक कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

pindeshwar-campus-2pindeshwar-campus-3