झापा : झापामा गए राति भएका अलगअलग सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

गएराति करिब सवा १० बजे दमक नगरपालिका १० सेतुमारी चोकनजिक भित्री सडक खण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश न. १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका-८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा सवार गौरादह नगरपालिका ५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई घाइते भएका थिए ।

उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति साढे ११ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ ७ बजेतिर शिवसताक्षी नगरपालिका १० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्र्याक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्र्याक्टरको पछाडिको भागमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका ५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बू र सोही मोटरसाइकलमा पछाडि सवार दमक नगरपालिका ५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएका थिए ।

घाइते दुबैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ साढे ७ बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।