धरान : कोशी प्रदेशका मूख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा खेल क्षेत्रमा जति लगानी भएको छ, त्यसको उचित उपलब्धि हासिल हुन नसकेको बताएका छन् । यसो हुनुको मुख्य कारण व्यवस्थापन पक्षमा खराबी रहेको हुनसक्ने उनको भनाई थियो ।
धरान मेघा हिमालयन कलेजद्वारा सञ्चालित धरान मेघा रेवाहाङ यु-१८ बास्केटबल प्रतियोगिताको सोमवार बिहान भएको उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन ।
उनले भने ‘अहिले क्रिकेटमा नेपालले पाएको अन्तर्राष्ट्रिय सफलताले मुलुकको नाम उच्च बनाएको छ ।’ तर अन्य खेलहरू त्यो उचाइमा पुग्न नसकेको बताउँदै उनले प्रश्न गरे ‘अन्य खेलहरूमा पनि उत्तिकै लगानी भएको छ, तर क्रिकेट जति सफल हुन सकेको छैन ।’
उनले खेलकुदको व्यवस्थापन पक्षले लक्ष्य निश्चित नगरे सम्म खेलले सफलता हसिल गर्न नसक्ने बताउँदै भने ‘कुनै पनि खेलमा हुने लगानी अघि त्यसले प्राप्त गर्ने लक्ष्य निश्चित गर्न जरुरी छ ।’
उनले १० वर्षमा विश्वकप खेल्ने राष्ट्रिय खेलाडी उत्पादन गर्ने कोशी प्रदेश फुटबल सङ्घको लक्ष्य निर्धारण उचित भएको उल्लेख गरे ।प्रतियोगिताको उद्घाटन उद्घाटन खेलमा धरान आदर्श कलेज विजयी भएको छ । खेलमा धरान आदर्शले सुनाखरी स्कुललाई ६६-४७ अङ्कको अन्तरले पराजित गरेको छ । खेलमा धरान आदर्श र सुनाखरीले प्रत्येक क्वाटरमा २०-१०, १०-११, १७-१७ र १५-९ अङ्क जोडेको थियो ।
सोमवारै भएको खेलमा धरान मेघा ए टिमले डिपो वि टिमलाई ४१-२६ र सियोन स्कुलले युनाइटेड गोर्खा एकेडेमीलाई ५९–११ अङ्कको विशाल अन्तरले पराजित गरेको छ ।
मेघा ए र डिपो वि टिमले प्रत्येक क्वाटरमा ९-२, १३-७, ११-४ र ९-१३ अङ्क जोडेको थियो । यसैगरी सियोन स्कुल र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा २३-१, १०-५, १०-३ र १६-२ अङ्क जोडेको थियो ।
कलेजका अध्यक्ष कैलाश लिम्बूको सभापतित्वमा भएको उद्घाटन समारोहमा प्रतियोगीताका संस्थापक रेवतिरमण राई, सुनसरी जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले प्रतियोगीताका बारेमा प्रकाश पारेका थिए ।
समाजसेवी रेवतिरमण राई, सुजता राईले आफ्ना दिवङ्गत छोरा बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा अक्षयकोष स्थापना गरेर ३ वर्ष अघि देखि धरान मेघा हिमालयन कलेज, बास्केटबल सङ्घ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु भएको हो ।
१२ कक्षा सम्मका विद्यार्थीहरूले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद रु। २५ हजार, उपविजेताले नगद १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर र उदीयमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । ५ गते सम्म सम्पन्न हुने प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा कलेजको बास्केटबल कोर्टमा हुनेछ ।