विराटनगर : प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले बुधबार कोशी प्रदेश प्रहरी प्रमुखका पदभार ग्रहण गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालयको मङ्सिर २७ गतेको निर्णय अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी अधिकारीले बुधबार देखी नै कार्यभार सम्हालेका छन् ।

प्रदेश प्रहरी कार्यालयको सभा हलमा भएको पदभार ग्रहण कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई डिआइजी अधिकारीले निर्देशन दिँदै शरीरलाई जीवन्त राख्नका लागि जसरी मुटु विश्राम नलिई निरन्तर रूपमा चलायमान रहिरहन्छ त्यसरी समाजको मुटुरूपी प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र कर्तव्यमा समर्पित रहनु पर्ने बताए ।

उनले समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको हुन्छ, सुरक्षा समाजको मेरूदण्ड र प्रहरी सुरक्षाको मेरुदण्ड भएकोले आआफ्नो पदीय दायित्व अनुसार आईपर्ने चुनौतीहरूलाई जित्न निर्भीक, इमानदार र वफादार राष्ट्र सेवक रूपमा खटिन निर्देशन दिए । 

डिआइजी अधिकारीले सवारी दुर्घटना, साइबर अपराध, लागुऔषधको प्रयोग तथा ओसार पसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरूलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्ध रूपमा काम गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

यसअघि प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको विद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका रचनात्मक कार्यका बारेमा अवगत गराएका थिए ।

पदभार ग्रहण अघि डिआइजी अधिकारीलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोश प्रदेश प्रहरी गण रानी, जिल्ला  प्रहरी कार्यालय मोरङ, सुनसरीका प्रहरी प्रमुख सहित सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए ।