इटहरी : आज (शनिवार) देखि नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको इटहरीमा सुरु हुँदैछ । पर्यवेक्षक र प्रतिनिधि सहित ५ हजार युवाहरूको जमघट हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

दिउँसो २ बजे प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा पुग्ने कार्यतालिका रहेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायत विशिष्ट पाहुनाको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

नेपाल भरिका ७८ वटै शाखाबाट जेसीज प्रतिनिधिहरू सहभागी हुने महाधिवेशन निर्देशक दीपक ढकालले बताएका छन् । कोशी प्रदेशकै पर्यटन प्रवर्द्धन गर्नको लागि युवाहरूको एकमुष्ट सहभागिता महत्त्वपूर्ण अवसर बन्ने उनको दाबी छ ।

महाधिवेशन मार्फत सन् २०२५ का लागि राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू चयन हुँदैछन् ।

अध्यक्षको लागि रश्मि शिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेश चन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना प्रतिस्पर्धामा छन् । नेतृत्व चयनको लागी सोमबार मतदान हुने भएको छ ।