धरान : भारतीय पर्यटकलाई आकर्षण गर्ने धन्धाको रुपमा धरानमा यौन व्यवसाय बढेको छ । शनिवार साँझ साँढे ७ बजे इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१२ स्थित शुभकामना होटेलमा छापा मारेर ५ भारतीय ग्राहक, ३ महिला र होटेल सञ्चालक सहित ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ५ जना भारतीय नागरिकहरू मुकेशकुमार साह, सुरजकुमार महत, कुन्दनकुमार, रोशन कुमार र संजिव कुमार छन् । उनिहरुसगँ आपत्तिजनक अवस्थामा ३ महिला पक्राउ परेका छन् । साथै होटेलका कुक भन्ने बिमल सुनुवार र सञ्चालक लक्ष्मण श्रेष्ठ पक्राउ परेका ईलाका प्रहरी कार्यलय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।
उनका अनुसार होटेल सञ्चालक लक्ष्मण श्रेष्ठ ३ महिना अगाडी पनि यौन व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेकी ३ महिला मध्ये २ जना भोजपुरका हुन । १ महिला धरानकी रहेको अनुसन्धानबाट खुलेको छ ।
होटेलमा दैनिक भारतीय नागरिकहरूको आगमन बढेपछि ईलाका प्रहरी कार्यालय धरानले छापा मारेको डिएसपी जबेगुले बताए । उनले पक्राउ पर्नेहरूलाई प्रहरीले अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउने बताए ।