इटहरी : कोशी प्रदेशको औद्योगिक सुरक्षाको क्षेत्रमा प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको मुख्यमन्त्री हिकमतकुमार कार्कीले बताएका छन् ।
इटहरीमा आज शुक्रवार उद्योग सङ्गठन मोरङद्वारा आयोजित व्यवसायीक सुरक्षा र स्वास्थ्य व्यवस्थापन प्रणाली सम्बन्धी गोष्ठीमा उनले भने ‘औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र सुरक्षाका विषयमा प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको छ ।’
मुख्यमन्त्रीले अहिले देखिए समस्या समाधान गर्दै, औद्योगिक कामदारले भोग्नु परेका समस्याहरूका विषयमा गोष्ठीले निकाल्ने निष्कर्षबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने ‘राज्यले पहल गर्नु पर्ने विषयमा उद्योग सङ्गठनले गोष्ठी आयोजना गरेर समाधान खोज्नु अनुकरणीय छ ।’ गोष्ठीको निष्कर्ष सरकारलाई औद्योगिक सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति बनाउन सहयोगी हुने मुख्यमन्त्रीले बताए ।
उद्योग सङ्गठन मोरङसँग प्रदेश सरकारले निरन्तर सहकार्य र अन्तरक्रिया गरिरहेको बताउँदै मुख्यमन्त्री कार्कीले भने ‘लगानी सम्मेलन सफल बनाउन पनि सङ्गठनले सल्लाह दिँदै आएको छ ।’