इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वबाट प्रजातन्त्र खतरामा परेको बताएका छन् । प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए ।

सुनसरीको इटहरीमा आयोजित विरोध सभामा बोल्दै उनले जनताले दिएको विश्वास माथि घात भएको उल्लेख गरे । पूर्व अर्थमन्त्री समेत रहेका लोहनीले  किसानले समयमै मल बीउ पाएको भए वा उद्योगीले उद्योग बिस्तार गर्ने वातावरण पाएको भए विरोध गर्नुपर्ने अवस्था नआउने स्पष्ट पारे । 

जनताले अहिले विकल्पको खोजी गरेको उल्लेख गर्दै उनले भने, "प्रजातन्त्र मास्ने काम अहिलेका शक्तिशाली नेताहरूबाट भएको छ । गिरिबन्धु टि स्टेटको जग्गा प्रकरण महाभ्रष्टाचार हो । यो सरकारले विप्रेषणमा लुट गरेर भरौटे पोस्ने काम गरेको छ ।" 

आफू विरुद्ध भएको अन्यायको आवाज नउठाउने हो भने सधैँ अत्याचार सहनुपर्ने बताएका उनले राप्रपा त्यस्तै अराजकता र अन्यायको विरुद्ध सडकमा आएको बताए । नेपाली जनता प्रति शोषण र दमनले सीमा नाघेको लोहनीको भनाइ छ ।