धरान : नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले काँग्रेसले २०८४ को निर्वाचनमा सत्तारुढ गठबन्धनको दल एमालेसँग प्रतिस्पर्धा र सहकार्य सँगै गरेर जानु पर्ने बताएका छन् ।
उनले भने ‘सरकार काँग्रेस-एमालेको सहकार्यमा अघि बढ्छ, निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरेर जानु पर्दछ ।’
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको पदस्थापन समारोहमा मङ्गलवार प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य समेत रहेका नेता डा. कोइरालाले उक्त कुरा बताएका हुन ।
२०८४ मा निर्वाचन हुने निश्चित रहेको बताउँदै नेता कोइरालाले काँग्रेसको प्रतिस्पर्धी नेकपा एमाले.नै भएकोले सरकारमा प्रतिनिधित्व गर्ने दुवै पार्टीका मन्त्रीहरू सहकार्य गर्दै सरकार चलाउँछन्, निर्वाचनमा दुई पार्टी बिच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनुपर्ने स्पष्ट गरे ।
उनले भने ‘दुई ठुला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ, २०८४ मा निर्वाचन हुने पक्का भएको छ ।’ राजनीतिक स्थायित्वका निम्ति हामीले नेपाली काँग्रेस र एमालेको गठबन्धन सरकारलाई निरन्तरता दिए पनि चुनावमा भने गठबन्धन गरेर जान नहुने बताए ।
कोइरालाले २/३ महिनामा पटक-पटक सरकार परिवर्तन भइरहँदा नीतिहरूमा परिवर्तन, सचिवहरू परिवर्तनले गर्दा देशको विकासका काममा बाधा परेकाले राजनैतिक स्थायित्वको निमित्त एमाले र काँग्रेसको सरकार बन्नु परेको बताए ।
उनले भने ‘अहिलेको सरकार संविधान सुधार, आर्थिक सुधार, सुशासन र भष्ट्राचरको अन्त्य गर्दे सुशासनलाई गति दिनका लागि बनेको हो ।’ अहिलेको सरकार यी नै ३ कुराको आधार मानेर अगाडी बढेको बताए ।
नेता कोइरालाले भने ‘तर जनताले सुशासन अनुभव गरेको पाइन्न, भ्रष्टाचारले देश गाँजिएको छ ।’ उनले सुशासन कायम गर्न र भष्ट्रचारको अन्त्य गर्न सरकार दृढता पूर्वक अघि बढ्नु पर्छ ।
जनतामा निराशा र विश्वासको कमी भएकै कारण बैङ्कमा पैसा भए पनि ऋण लिन नचाहिरहेका बताए । रेमिटेन्स भित्रिएको भित्रियै छ, बैङ्कको ब्याजदर घटे तापनि व्यवसायी ऋण लिन गएका छैनन् । जनता, व्यवसायी र बैङ्कले एक अर्कालाई भरोसा नगरेका कारण विश्वासको वातावरण बनाउन गठबन्धन सरकार बनेको उनको भनाई थियो ।
नेता कोइरालाले भने संविधान संशोधनको एजेन्डामा सत्तारुढ दुई दल काँग्रेस र एमाले मात्रै अघि बढ्दा गलत बाटोमा पुगिन्छ ।’ अरू दललाई पनि साथ दिएर संविधान सुधार गर्ने पक्षमा काँग्रेस रहेको उनले बताए ।