विराटनगर : कोशी प्रदेशका सङ्कटग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन गर्न प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश सरकारको निर्णय अनुसार अब सङ्कटग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन समिति प्रदेश सरकारले गठन गर्ने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन समितिको गठन र त्यसको काम कर्तव्य तथा अधिकारको पनि निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय सहित मन्त्रिपरिषद्ले १० वटा निर्णय गरेको जानकारी दिए ।
बैठकले कृषि सहकारी मन्त्रालयबाट प्राप्त भएको कृषि कर्जा व्याज अनुदान सम्बन्धी कार्यविधिलाई स्वीकृत गर्ने निर्णय भएको छ ।
मन्त्री भण्डारीका अनुसार बैठकले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश वन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा पेश गर्ने निर्णय गरेको छ ।
पाथिभरा क्षेत्र विकास समिति, वृहत बराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश २०८१ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।