धरान : डिपो स्कुलको खेल मैदानमा जारी १९औ ललित अम्बर डिपो कपको पहिलो चरणमा पराजित हुने टिमहरूको प्रतियोगिता प्लेट च्याम्पियनसिपको उपाधि धरान-१७ स्थित जोलसाय इङ्लिस बोर्डिङ स्कुलले चुमेको छ ।
प्लेट च्याम्पियनको बिहीबार भएको फाइनल खेलमा जोलसायले आयोजक डिपो पहेँलो टिमलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टिमले गोल नगरेपछि खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा जोलसायका प्रनिस राई, युनिक राई, विशाल सुनार र लाजिहाङ लिम्बुले गोल गरे । डिपो पहेँलोका साइमन पाख्रीन अग्रिम राई र निकेश राईले गोल गरेका थिए ।
इमानुयल डिपो कपमा तेस्रो
बिहीबारै डिपो कपको तेस्रो उपाधिको लागि भएको प्रतिस्पर्धामा इमानुयल स्कुलले दिल्ली पब्लिक स्कुललाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ ।
निर्धारित समयमा दुवै टिमका इमानुयलका प्रशान्त लिम्बुले २ बिकेश विष्टले १ गोल गरे । दिल्ली पब्लिकका रोहन लिम्बुले २ र सुभम थाकुरले १ गोल गर्दै ३–३ गोलमा बराबरी भएपछि टाइब्रेकर भयो ।
टाइब्रेकरमा एमानुयलका टाइब्रेकरमा इमानुयलका लबि रानापल, विकास विष्ट र सपन दाहालले गोल गरे । दिल्ली पब्लिकका ओर्गेन तामाङ र अर्नव जोशिले मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच दिल्ली पब्लिकका अर्नव पाण्डे घोषित भए ।
प्लेट च्यापियन विजेता, उपविजेता र ललित अम्बर कपको तेस्रो उपाधि विजेता खेलाडीहरूलाई आज शुक्रवार हुने १९ औ ललित अम्बर डिपो कपको विजेता उपविजेता खेलाडीहरू सङ्गै पुरस्कार वितरण गरिने छ ।
उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ, दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।