बिर्तामोड : सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ ।

महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

महोत्सवमा १५० वटा स्टल रहने र छुट्टा छुट्टै चार विधाका अलग-अलग  स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवमा व्यापारसँगै कृषि क्षेत्रको उत्थानका लागि समेत कृषि उत्पादनलाई प्रवर्द्धन गरिने छ । कृषिका स्टललाई निःशुल्क गरिने उनको भनाई छ ।

झापाकै ठुलो बजारका रूपमा रहेको बिर्तामोडमा आयोजना गरिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले व्यापार व्यवसायलाई प्रवर्धन गर्ने अपेक्षा राखिएको छ । महोत्सवले सानादेखि ठुला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रूपमा लिइएको अध्यक्ष न्यौपानेले बताए ।

महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरूलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरूको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने सङ्घका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए ।

प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैङ्क तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरू, हस्तकला तथा तयारी पोसाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।

विशिष्ठ खालका स्टलहरूले सजाइने महोत्सवमा कलाकृतियुक्त मूल प्रवेशद्वारको निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी दिए ।

महोत्सवमा चर्चित कलाकारहरू तथा विभिन्न ब्यान्डको दैनिक साङ्गीतिक प्रस्तुति रहनेछ । बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरूका स्टल रहने महासचिव कुशल खतिवडाले बताए ।

महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पार्किङको व्यवस्था हुने सङ्घका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।

पूर्वी नेपालको व्यापारलाई अन्तर्राष्टियस्तरबाट प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव बिर्तामोड-५ धर्मकाँटा रोड, मंगल एकता टोलको खाली जमिनमा सञ्चालन हुने सङ्घका कोषाध्यक्ष युवारज निरौलाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजकका पदाधिकारीसहित नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा मेल समिति संयोजक उमेश डालमिया, नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई लगायत पत्रकार सम्मेलनमा सहभागी थिए । महोत्सवको दुई लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।