धरान : १९औँ अम्बर ललित डिपो कप फुटबलको उपाधि चौथो पटक पनि पुलिस स्कुलले उचालेको छ ।
डिपो स्कुलको खेल मैदानमा आज शुक्रवार भएको फाइनलमा आयोजक डिपो स्कुल रेड टिमलाइ टाइब्रेकरमा पराजित गर्दै पुलिस स्कुलले लगातार चौथो पटक उपाधि कब्जा गरेको हो ।
रोमाञ्चक प्रतिस्पर्धा भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ४-२ गोल अन्तरले डिपोलाई पराजित गर्दै पुलिस स्कुलले उपाधि कब्जा गरेको हो ।
टाइब्रेकरमा पुलिसका विनायक निरौला, मनिकुमार लिम्बू, अंशु बास्फोर र नियुस खड्काले गोल गरे । डिपो स्कुलका कुशल राई र करण खड्काले मात्र गोल गर्न सके ।
समापनमा प्रतियोगिताका विजेता टिमलाई ११ हजार १११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । उपविजेताले डिपो स्कुलले ७ हजार १११ रुपैयाँ र तेस्रो बनेका इमानुयलले ५ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सोही अवसरमा दिलबहादुर प्लेट च्याम्पियन जोलसाय स्कुललाई नगद ३ हजार र उपविजेता आयोजक डिपो स्कुल पहेँलो टिमलाई २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डिपो स्कुलका कृशल राई, म्यान अफ द म्याच डिपो स्कुलका कुशल राई, राइजिङ प्लेयर डिपो स्कुलका इसाक लावती, उत्कृष्ट गोलकिपर पुलिस स्कुलका ओंमकुमार सिंह र हाइ स्कोरर इमानुयल स्कुलका सौगात श्रेष्ठ घोषित भए । उनीहरूले ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई वटा फ्री टिकट प्राप्त गरे ।
प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रबिक्रम बेघा, सभापति डिपो स्कुल व्यवस्थापन अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बू, प्रतियोगिता संयोजक दिपबहादुर राई, सुनसरी फुटबल सङ्घ अध्यक्ष नवीन राई, व्यवस्थापन सदस्य सूर्य पन्धाक लिम्बू, प्राचार्य राजकुमार राई लगायतले पुरस्कार वितरण गरे ।