वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले गएको असोजमा सप्तकोशी नदीमा आएको बाढीका कारण टप्पु क्षेत्रहरूमा अलपत्र भएर बसेका मानिसहरूलाई उद्धार गर्ने सहयोगी साहसिक युवाहरूलाई सम्मान गरेको छ । नगरपालिकाले शुक्रवार १५औँ नगर सभाको उद्घाटन सत्रको अवसरमा ८ जना युवाहरूलाई नगद ८ हजार सहित सम्मान पत्रले सम्मानित गरेको हो ।
असोजमा आएको बाढीबाट माछा मार्न गएका, पशुपालन गर्दै आएका मानिसहरू सप्तकोसीको टप्पु क्षेत्रमा अलपत्र बनेका थिए । उनीहरूलाई राजाबास तारघाट, ठाकुरबारी क्षेत्रबाट साहसिक रूपमा युवाहरूले डुङ्गा मार्फत युवाहरूले सुरक्षित स्थापनमा ल्याउन सुरक्षा निकाय र नगरपालिकालागि सहयोग गरेका थिए ।
युवाहरूले नगरपालिका र सुरक्षा निकायहरूसँग समन्वय गरेर मानव सेवाको कार्यमा काम गरेकोमा उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगर सभाकै अवसरमा वडा नं.२ का कोशी प्रदेशकै चर्चित साङ्गतिक कार्यक्रम सङ्खुवासभा आइडल सिजन ३ का विजेता बिकेव पाण्डेलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै इनरुवामा सम्पन्न पालिका स्तरीय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको नगरपालिकाको कबड्डी टोलीका खेलाडीहरूलाई सम्मान गरिएको थियो ।
त्यस्तै भरखरै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा कोशी प्रदेश पार्षदमा निर्वाचित हिमाल राई, नवराज विष्ट त्यस्तै नेपाल पत्रकार महासङ्घ सुनसरी कार्य समिति सदस्यमा निर्वाचित हिरण्य कुमार कार्की र विजय कुमार राईलाई बधाई तथा सम्मान गरिएको थियो।
शुक्रवार आयोजना भएको १५औँ नगर सभामा नगर प्रमुख रमेश कार्कीले आर्थिक वर्ष २०८१/८२ सालको अर्धवार्षिक प्रगति प्रतिवेदन र नगर उपप्रमुख नन्दकुमारी सुनुवारले आर्थिक वर्ष २०८१/०८२ सालको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।