झापा : काँकडभिट्टाबाट धरानतर्फ आँउदै गरेको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् ।

आज बिहान करिब साढे ६ बजेतिर शिवसताक्षी-१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

बस सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरूमा मोरङको विराटनगर महानगरपालिका ३ बस्ने ५४ वर्षका गुणा कोइराला, सोही ठाउँकी ३४ बर्षीया दिपा निरौला, सोही ठाउँकी १७ वर्षकी म्यारी निरौला, सोही ठाउँकी ३८ बर्षीया निर्मला निरौला, यस्तै विराटनगर महानगरपालिका ४ की ५९ वर्षकी शर्मिला कोइराला रहेका छन् ।

यस्तै अन्य घाइतेहरूमा झापा शिवसताक्षी-८ झिलझिले बस्ने वर्ष ३२ का टङ्क शिवाकोटी, सोही ठाउँकी ३० बर्षीया आन्सा फियादेन, सोही ठाउँकी २१ वर्षकी सुमना लिम्बु, यस्तै झापा बिर्तामोड नगरपालिका ६ बस्ने वर्ष ५१ का पुष्पलाल अधिकारी, सोही ठाउँकी वर्ष ४९ की चन्द्रकला अधिकारी र कमल गाउँपालिका ६ बस्ने वर्ष ४० का शान्तिराम खतिवडा रहेका छन् ।

बस चालक मेचीनगर-१० धुलाबारी का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी अर्जुन सोडारीले जानकारी दिए ।