इटहरी : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले मिडिया आलोचनात्मक बन्नुपर्ने बताएका छन् । मिडियाले सरकारको आलोचना गर्नैपर्ने भएपनि त्यसमा आग्रह झल्किन नहुने बताए ।
नेपालका मिडिया धेरै शक्तिशाली रहेको बताउँदै उनले सरकार पत्रकारको पक्षमा रहेको स्पष्ट पारे । सुनसरीको इटहरीमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री भण्डारीले लोकतान्त्रिक व्यवस्था ल्याउनको लागी मिडियाको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
उनले भने,"नेतालाई सिध्याउले, खुइल्याउने कामले लोकतान्त्रिक प्रणाली कमजोर हुँदैन । मुलुकलाई निराशा छर्ने र लोकतन्त्र कमजोर बनाउने नियत सही छैन । देशको अर्थतन्त्र विकास गर्ने र देशमा सुशासन कायम गर्ने कुरा सही छ । मान्छेका कमजोरी हुन्छन् । हामीले पनि कमजोरी गरेका छौँ होला । तर लोकतान्त्रिक प्रणाली र पद्धतिमा हामी प्रतिबद्ध छौँ । त्यसमा मिडियाले साथ दिनुपर्छ ।"
लामो समय देखी अड्किएको मिडिया विधेयक कोशी प्रदेशमा पेश हुने तयारी रहेको बताउँदै सरकारले पत्रकारको भलाईको लागि काम गरिरहेको उल्लेख गरे ।