धरान : कोशी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि पर्यटन सेवाको गुणस्तरमा धेरै सुधारका कार्य गरिनु पर्नेमा सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् ।

धरान एक्स्पोको अवसरमा आइतबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरिएको गोष्ठीमा उनीहरूले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका हुन । गोष्ठीको छलफलमा प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल प्रमुख अतिथि थिए ।

पर्यटन व्यवसायी बासुदेव बरालले वस्तुस्थिति प्रस्तुत गर्दै सङ्घीय पर्यटन मन्त्रालयले ल्याएको १० वर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजनामा मुलुकको पर्यटनको गुणस्तर सुधारका लागि प्रमुख ६ चुनौती रहेको उल्लेख गरे ।

उनले नेपाली पर्यटनको गुणस्तरमा सुधारका लागि धेरै काम गर्नुपर्ने चुनौतीहरू भएको बताउँदै  गुणस्तर सुधारले पर्यटनको विकास र प्रवर्द्धनको क्षेत्रमा नयाँ सम्भावनाहरू बढ्ने कुरामा जोड दिए ।

पर्यटन क्षेत्रमा गुणस्तरीय जनशक्तिको अभाव, आवासको गुणस्तर, पर्यटकहरूलाई प्रदान गरिने सेवाको गुणस्तर, स्थलमार्गबाट नेपाल भित्रने पर्यटकलाई अध्यागमन प्रक्रिया र प्रवेशाज्ञा भिसा सेवाको गुणस्तरमा सुधार र गन्तव्य स्थलमा गुणस्तर गर्न सके मात्र पर्यटनको प्रवर्द्धन हुने कुरामा गोष्ठीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

छलफलमा पर्यटन उद्योग तथा व्यवसाय, धार्मिक तथा सांस्कृतिक पर्यटनमा सरकारको नीति, योजना, बजेट र कार्यान्वयन पारदर्शी हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए ।

मन्त्री सदानन्द मण्डलले कोशी प्रदेशमा भएका धार्मिक पर्यटन समृद्ध भएमा प्रदेश मात्र होइन देशको चलाउने बताए । उनले भने ‘पर्यटन कुरा गरेर मात्र समृद्धि आउँदैन ।’

प्रदेशले धार्मिक पर्यटन, स्वास्थ्य,कृषि, आइटी र जलविद्युत, खेललाई प्रवर्द्धन गरे मात्र समृद्धि आउन सक्ने उनको भनाई थियो । मन्त्री सदानन्दले भने ‘यी ५ चिजलाई मात्र उत्पादन गरेर विदेश निर्यात गर्न सके आर्थिक विकास सम्भव छ ।’

उनले युवाहरूले आईटबिाट मात्र ३ सय करोड बाहिरबाट रेमिटान्स भित्रिएको दाबी गर्दै युवाहरूलाई आईटीमा प्रोत्साहन गर्नमा जोड दिए ।

प्रदेशको धार्मिक पर्यटन विषयक बासुदेव बरालको प्रस्तुतिमा पर्यटन विज्ञ कृष्ण साहले टिप्पणी गरे । छलफलमा बराह क्षेत्रको विकास र समृद्धिका विषयमा वराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्द कुमारी राई र रामधुनीको समृद्धि र विकासका बारेमा रामधुनी नगरपालिका मेयर शंकरलाल चौधरीले प्रकाश पारेका थिए ।

कार्यक्रमको सभापतित्व सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले गरेका थिए । सञ्चालन महासचिव महेन्द्र प्रधानले गरेका थिए । धरान एक्स्पो २०८१ को अवसरमा आयोजित कार्यक्रमको संयोजक सन्दीप शाक्य रहेका थिए ।

paryatan-Gosthiprayatan-gosti-3