इटहरी : नेपाली कांग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी भएर घरैमा आराम गरिरहेका बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको हो ।
सुनसरीको इनरुवा निवासी बस्नेत २०४९ को स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समिति सभापतिमा निर्वाचित भएका थिए । हक्की स्वभावका बस्नेत सुनसरीका प्रभावशाली नेताको रूपमा चिनिन्थे ।
जिल्ला कोषाध्यक्ष हुँदै बस्नेत २०५७ र २०६२ को महाधिवेशन मार्फत जिल्ला सभापति निर्वाचित भए । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका उनी त्यसपछि कुनैपनि निर्वाचनमा सहभागी भएनन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि राजनीतिको किनारमा परेका उनी त्यसयता सार्वजनिक गतिविधिमा देखिएनन् ।
सोमबार बिहान निधन भएका बस्नेतको पार्थिव शरीरलाई मङ्गलवार पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम छ । श्रद्धाञ्जली दिन महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता डाक्टर शेखर कोइराला लगायत नेताहरू इनरुवा पुग्ने भएका छन् ।