झापा : झापाको बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा बुलेरो र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि अन्य तिन जना घाइते भएका छन् ।

मेची राजमार्ग अन्तर्गत चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३८५१ बुलेरो गाडी र विपरीत दिशाबाट आइरहेको प्र.१-०१-००२ ह ३६३ नम्बरको अटो आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परि अटोमा सवार बुद्धशान्ति गाउँपालिका वडा नं. ४ की २७ वर्षीय अमृता तामाङको मृत्यु भएको झापा ट्राफिकले जनाएको छ । घाइते अवस्थामा भद्रपुरस्थित प्रादेशिक अस्पताल पुर्‍याइएकी तामाङलाई चिकित्सकले आज बिहान पौने १२ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परि अटोमा सवार २१ वर्षीय कृतिका तामाङ, ४१ वर्षीय मञ्जु तामाङ र बुलेरोका चालक मेचीनगर नगरपालिका-१२ निवासी ४० वर्षीय दिलकुमार माझी घाइते भएका छन् । घाइते तीनै जनाको बुधबारेस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ ।