धरान : धरानको पुराना स्कुलहरू मध्ये एक धरान-८ स्थित सहिद स्मृति माध्यमिक विद्यालय ६७औँ वर्षमा प्रवेश गरेको छ ।

धरानमा नगर पञ्चायतले प्राथमिक पाठशालाहरू सञ्चालन गर्दा स्थापना भएको स्कुलले सहयोगी दाता सहित शिक्षकहरूलाई सम्मान गर्दै आइतबार  स्थापना दिवस मनाएको छ ।

प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेतले सहिदका विद्यार्थीहरूले बनाएको रोवर्ट मार्फत रिबन काटेर कार्यक्रमको उद्घाटन गर्दै उनले शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, विद्यार्थी र अभिभावकको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए ।

धरान उपमहानगरपालिका शिक्षा महाशाखा गणेश खतिवडाले शिक्षामा धेरै कुराको सुधारको खाँचो रहेको बताए ।

सोही अवसरमा सुमेधा एजुकेशन नेटवर्कका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मान गरियो । उनले स्कुललाई  १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । राउण्ड टेबल २६ का पूर्व अध्यक्ष लक्ष्मी कान्त विहानीलाई स्कुलका विपन्न परिवारका १२५ जनालाई स्वेटर प्रदान गरेकोमा सम्मान गरियो ।

विद्यालयमा उत्कृष्ट कार्य गर्ने पूर्व प्रधानाध्यापक टङ्क भट्टराई, वोधराज कुँवर, लक्ष्मी भट्टराई सम्मानित गरियो । आर्थिक सहयोग गर्ने शिक्षकहरू सतिश कुमार राय, मनोज कुमार शाह, गीता राई पनि सम्मान-पत्र प्रदान गरियो ।

वार्षिकोत्सवमा भएको खेलकुद प्रतियोगिताका विजेताहरू विद्यार्थीहरूलाई प्रमुख अतिथि सांसद बस्नेत प्रमाणपत्र र मेडल पुरस्कार प्रदान गरे । 

विद्यार्थीहरूले तयार गरेको विज्ञान प्रयोगशाला प्रदर्शन सहित मनाइएको वार्षिकोत्सव अभिभावक सङ्घका अध्यक्ष जयबहादुर राईको सभापतित्वमा भएको थियो । सञ्चालन शिक्षक राजन बनले गरेका थिए ।

sahid-news

Sahid-School-News-2