इटहरी : नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतको पार्थिव शरीरमा वरिष्ठ नेता शेखर कोइरालाले श्रद्धाञ्जली अर्पण गरेका छन् । सुनसरी पार्टी कार्यालय इनरुवामा डाक्टर कोइरालाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।
काँग्रेस नेता विजय कुमार गच्छदार लगायत पार्टीका नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना भएको हो । सुनसरी काँग्रेसको दुई कार्यकाल सभापति भएका बस्नेतको आज साँझ दाहसंस्कार गर्न लागिएको छ । सोमबार बिहान निधन बाएका बस्नेतको छोरा विदेशमा रहेकाले आउन समय लागेपछि दाहसंस्कार ढिला भएको परिवार श्रोताले जनाएको छ ।
केही समय देखी बिरामी भएर घरैमा आराम गरिरहेका बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको हो ।
सुनसरीको इनरुवा निवासी बस्नेत २०४९ को स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समिति सभापतिमा निर्वाचित भएका थिए । हक्की स्वभावका बस्नेत सुनसरीका प्रभावशाली नेताको रूपमा चिनिन्थे ।