इटहरी : नेपाली काँग्रेसको सदस्यता नवीकरण वडा समितिबाट धमाधम भइरहेको छ । चैत सम्म नवीकरण सक्नुपर्ने जिम्मेवारी पाएको वडा समिति आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ । देशैभर सदस्यता नवीकरण भइरहँदा इटहरीमा भने कुनै सक्रियता देखिएको छैन ।
क्षेत्र नम्बर २ (क) र ३ (क) मा पर्ने इटहरीले दुवै प्रदेश क्षेत्रीय समितिले सदस्यता फारम पठाइसकेको छ । इटहरी सँगै जोडिएका इनरुवा, धरान, रामधुनी, दुहबी लगायत पालिका समितिले भने वडा स्तरमा छलफल चलाइरहेका छन् । अन्य पालिकाका कतिपय वडामा नवीकरणको प्रक्रिया सकिइसकेको छ भने केहीमा टोल स्तरमा नवीकरण भइरहेको छ । इटहरी उपमहानगरपालिकामा पाँच हजार बढी क्रियाशील सदस्य छन् ।
नगर सचिव मन्दीप भट्टराईका अनुसार सभापति हेमकर्ण पौडेल नगर बाहिर भएको हुँदा छलफल समेत हुन सकेको छैन । सभापतिको निर्देशन अनुसार छलफल आह्वान हुने र सोही अनुसार वडामा सदस्यता फारम वितरण हुने भएकाले अहिलेसम्म प्रक्रिया अगाडी नबढेको बताए ।
उपसभापति कोवीदजङ्ग कार्कीले सदस्यता नवीकरणको कुरा चलेपछि आफूलाई जानकारी प्राप्त नभएको बताए । हालसम्म त्यस विषयमा औपचारिक रूपमा कुनै छलफल र संवाद नभएको उनको भनाइ छ ।
‘डिजिटल सदस्यता’ सम्भव नभएपछि केन्द्रबाटै सदस्यता कार्ड र फारम प्रिन्ट गरेर तल्लो तहमा पठाइ सकिएको छ । महामन्त्री गगन कुमार थापा संयोजकत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५ माघभित्रमा नवीकरण फारम र क्रियाशील सदस्यको विवरण तल्लो तहसम्म पुर्याउने र २९ चैतभित्र जिल्लाबाट अन्तिम टुङ्गो लगाएर केन्द्रमा पठाउने कार्यतालिका छ ।
१५ माघमा तल्लो तहमा सदस्यता फारम पुर्याउने र १ फागुनसम्म वडाबाट टुङ्गो लगाइने कार्य योजना छ । १० फागुनसम्म पालिकामा, २० फागुनसम्म प्रदेश सभा क्षेत्रीय समितिमा, २९ फागुनसम्म एक मात्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति रहेको जिल्लाबाट टुङ्गो लगाइने र १५ चैतसम्म एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट टुङ्गो लगाइने भएको छ ।
कार्यतालिका अनुसार १ फागुनभित्र वडाले क्रियाशील सदस्यता नवीकरण सकेर पालिका कार्यसमितिमा विवरण र नवीकरण शुल्क बुझाउनुपर्ने भएको छ । पालिकाले १० फागुनभित्र वडाबाट प्राप्त नवीकरणमाथि आवश्यक निर्णय र सिफारिस गरी प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउनुपर्ने हुन्छ । प्रदेश सभा क्षेत्रीय समितिले २० फागुनभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले १५ चैतभित्र जिल्ला कार्यसमितिमा अनिवार्य दिनुपर्ने हुन्छ ।
काँग्रेसले पहिलो पटक कार्यतालिका नै बनाएर सदस्यता वितरणको काम अगाडि बढाएको हो । विधानअनुसार काँग्रेसको १५औँ महाधिवेशन २०८२ मा हुनुपर्नेछ । सदस्यताको टुङ्गो नलागी महाधिवेशन नहुने भएपछि नवीकरण र नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिइएको हो । काँग्रेसको तथ्याङ्क अनुसार १४औँ महाधिवेशनमा आठ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य छन् ।
सदस्यताको विषय टुङ्गो लगाउन २ साउन ०७९ मा महामन्त्री थापालाई संयोजकको जिम्मेवारी दिइएको थियो । गत १६ भदौमा सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता नवीकरण तथा वितरणलगायतलाई प्राथमिकतामा राखेर सय दिने साङ्गठनिक अभियान घोषणा गरेको छ ।