इटहरी : नेपाली काँग्रेसका नेता रामबहादुर बस्नेतको निधनमा सुनसरी काँग्रेस शोकमग्न छ । मङ्गलवार पार्टी कार्यालय इनरुवामा आयोजित श्रद्धाञ्जली सभामा नेताहरू मलिन मुद्रामा देखिए । काँग्रेस केन्द्रीय सदस्य राजीव कोइराला खुलेर बोल्ने परिस्थितिमा थिएनन् । बस्नेत जिल्ला सभापति हुँदा दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका रहेका कोइरालाले बस्नेतको अभाव महसुस गरे । 
राजनीतिक अभिभावक मानेका कोइरालाले बस्नेतको निधनले पार्टीलाई पुर्‍याएको क्षतिको शब्दमा व्याख्या नहुने प्रतिक्रिया दिए । पार्टी कार्यकर्तालाई कसरी न्याय गर्ने भन्ने कुरा बस्नेतबाट सिक्नुपर्ने उनको भनाई छ । बस्नेतलाई स्मरण गर्दै उनले भने, ‘कार्यकर्ता मात्र हैन कसैलाई पनि झुलाएर नराख्ने र सबैको काम फटाफट गर्दिने चरित्र वहाँमा थियो । विकास निर्माणमा वहाँले समाजवादी मोडेलको अभ्यास गर्नुभयो । लोकतन्त्र र परिवर्तनको लागि वहाँको योगदानको मूल्याङ्कन सदैव हुन्छ र हुनुपर्छ ।’
बस्नेतपछि जिल्ला सभापति भएका सिताराम मेहताले पार्टीले बलियो नेता गुमाएको महसुस गरेका छन् । हक्की र निडर स्वभावका बस्नेतले कार्यकर्तालाई सत्य र न्यायको पक्षमा लाग्न सिकाएको मेहताले बताए । 
बस्नेत जिल्ला कोषाध्यक्ष हुँदाको समयका सभापति हरिनाथ बास्तोलाले पनि जुझारु र निर्भीक नेताको रूपमा चिनेको स्मरण गर्छन् । गिरिजाप्रसाद कोइरालालाई समेत सुरक्षा दिएर अगाडी हिँड्न सक्ने एक हक्की र निडर नेताको रूपमा बास्तोलाले बस्नेतलाई बुझेका छन् । 
वर्तमान जिल्ला सभापति केदार भण्डारीले बस्नेतलाई प्रजातन्त्रको हिमायतीको रूपमा बुझेको बताए । सुनसरी काँग्रेसले अभिभावक गुमाएको बताउँदै उनले बस्नेतको अभाव सदैव खड्कीरहने प्रतिक्रिया दिए । 
२००३ सालमा ओखलढुङ्गामा जन्मिएका बस्नेतका हजुरबा पर्छन् छत्रध्वज बस्नेत । २०३६ सालको जनआन्दोलनमा ओखलढुङ्गा सभापति रहेका छत्रध्वजले नै रामबहादुरलाई पार्टी सदस्यता दिलाएका हुन् । सुनसरी पार्टी कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका उनले रामबहादुरलाई काँग्रेस पार्टी प्रतिबन्धित हुँदा समेत लोकतन्त्रको लागि आन्दोलनमा होमिएको नेताको रूपमा चिन्छन् । काँग्रेसका कार्यकर्ताको आड भरोसाको रूपमा रामबहादुरले काम गरेको उनको बुझाइ छ ।  
सोमबार बिहान निधन भएका बस्नेतको मङ्गलवार साँझ सुनसरी खोला इनरुवामा अन्त्योष्टी गरिएको छ । उनलाई श्रद्धाञ्जली दिन डाक्टर शेखर कोइराला, विजयकुमार गच्छदार, मीन विश्वकर्मा लगायत नेता कार्यकर्ताहरू इनरुवा पुगेका थिए ।
Purbasavapati-basnet's-deatcangress-leder-death