धरान : नेवार समुदायका सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता ‘मिस नेवा’ १८ औ संस्करणको पहिलो चरण काठमाडौँमा सुरु भएको छ ।

नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालले यसपालि पनि प्रतियोगिता आयोजन गरेको हो । टोखा स्थित सपन तीर्थ मन्दिरमा बुधवार लाखबत्ती बालेर ‘मिस नेवा ११४५’ को प्रारम्भिक चरण  आरम्भ गरिएको हो ।

प्रतियोगितामा सहभागी नेवार सुन्दरीहरूले विश्व शान्तिको कामना गर्दै लाख बत्ती बालेर प्रतियोगिताको आरम्भ गरिएको नेप्लिज फेसन होमले जनाएको छ ।

यस वर्षको मिस नेवा: नेपाल प्रतियोगितामा देशका जिल्लाहरूबाट २१ नेवार युवतीहरू प्रतियोगीका रूपमा सहभागी भएका छन् ।

प्रतियोगितामा लुनिभा मानन्धर, प्रलिशा शाक्य, अल्पा महर्जन, अनुषा बज्राचार्य, अनुश्री शाक्य, दिबिना डङ्गोल, लुमना महर्जन, प्राश्ना श्रेष्ठ, रमुना बज्राचार्य, रिम्सा श्रेष्ठ, रितिषा बज्राचार्य, रोनीसा महर्जन, रुजी शाक्य, श्रद्धा महर्जन, श्रीया मानन्धर, सुभेक्षा श्रेष्ठ, कुन्ता श्रेष्ठ, प्रसिद्धी शाक्य, संस्कृति श्रेष्ठ र शुवास्ना श्रेष्ठ गरी २१ नेवार सुन्दरी बिच अन्तिम प्रतिस्पर्धा हुनेछ ।

नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशक अघिदेखि उक्त प्रतियोगिता हुँदै आएको छ ।

नेवार भाषा, कला, संस्कृति, पहिरन, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाको संरक्षण एवं प्रवर्द्धन गर्न प्रतियोगितालाई निरन्तरता दिँदै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

सहआयोजक फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिलकुमार महर्जनले नेवार समाजको उत्थान गर्ने कार्यक्रममा सहआयोजकको रूपमा सहभागी हुन पाउँदा गर्व लागेको बताए ।

नयाँ संस्करणको मिस नेवा: प्रतियोगिता सुरु भएको अवसरमा प्रतियोगिताका सहभागी नेवार सुन्दरीहरूले खोकनाका साना स्कुले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरे ।

मिस नेवा: नेपालका प्रतियोगिताको विजेतालाई चम्किलो ताजका साथै पुरस्कार नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा विभिन्न उपउपाधि पनि प्रदान गरिने छ ।

आउँदो फागुनमा ग्राण्ड फिनाले हुने मिस नेवा प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न हुनेछ ।

मिस नेवा नेपाल ११४१ कार्यक्रमको मुख्य संयोजक कृषा महर्जन रहेकी छिन् । मिस नेवाको सहसंयोजक  सकिना महर्जन, सोसियल वेलफेयर एम्बेस्ड चिफ तिमिला महर्जन रहेकी छिन् ।

Miss-Newa-1

Miss-Newa-2