धरान : सरकारले सामाजिक सञ्जाल नियमन गर्ने कानुन लागु तयार गरेको विधेयक आज मङ्गलवार राष्ट्रिय सभामा दर्ता गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद्मा दर्ता गरेको विधेयक संसद्ले पारित गरे कानुन बनेपछि फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायतलाई दुरुपयोग गर्नेहरू कडा दण्ड सजायको दायरामा आउने छन् ।

विधेयकमा सामाजिक सञ्जालमा बेनामे वा छद्मभेषी आईडी, पेज वा समूह चलाउनेलाई ३ महिनासम्म कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

विधेयकमा सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने, कैद वा जरिवाना वा दुवै सजाय हुने प्रावधानहरू छन् । सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न भनी विधेयक दर्ता गरिएको मन्त्री सुब्बा गुरुङले बताए ।

नक्कली आईडी बनाउन र त्यसबाट पोस्ट, शेयर, कमेन्ट वा कल गर्न नपाइने गरी कानुन बन्न लागेको हो। फेक आईडी, समूह वा पेजबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल गलत र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई पाँच वर्ष कैद सजाय र १५ लाख रुपैयाँ जरिवाना हुने भएको छ ।

वेबसाइट, एप, सामाजिक सञ्जाल, ब्लग, एआई टूल्स सञ्चालन गर्न चाहनेले अनुमति लिनुपर्नेछ । त्यस्तै, देश बाहिरबाट सञ्चालित सामाजिक सञ्जालले नेपालमा सम्पर्क बिन्दु राख्नु पर्नेछ ।

साइबर बुलिङ गर्नेलाई दुई वर्ष कैद र तीन लाख जरिवाना तथा साइबर स्टकिङ गर्नेलाई ३ वर्ष कैद र पाँच लाख जरिवाना हुने छ । विधेयकमा अरूको आइडी ह्याक गर्नेलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने प्रस्ताव गरिएको छ ।