सुनसरी : हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल कलेजले जितेको छ ।
इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथि १-० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधि जितेको हो ।
पूर्वाञ्चललाई उपाधि जिताउन सिल राईले दोस्रो हाफको ५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै पूर्वाञ्चलले नगद ३० हजार रुपैयाँ र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैयाँ पाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ता पूर्वाञ्चलका सिल राई घोषित भए । उनले सर्वोत्कृष्ट भए बापत नगद ५ हजार र उच्च गोलकर्ताको ३ हजार सहित ८ हजार पुरस्कार पाए ।
पूर्वाञ्चलकै सुमित राई बेस्ट गोलकिपर, सकक्षम प्रधान बेस्ट मिडफिल्ड र र सजिवन राई बेस्ट प्रशिक्षक घोषित भए । सुस्मा कलेजका देवराज श्रेष्ठ बेस्ट फरवार्ड र युसन राई बेस्ट डिफेन्स घोषित भए । उनीहरूले जनही नगद २-२ हजार रुपैयाँ पाए ।
विजेता तथा उपबिजेता खेलाडीहरूलाई प्रमुख अतिथि हिसान केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, सचिव सुभाष लुइँटेल, एन्फा सुनसरी वरिष्ठ उपाध्यक्ष भेषराज कार्की, महासचिव कोबिदजंग कार्की, सदस्य प्रकाश कोइराला लगायतले पुरस्कार वितरण गरे ।
अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरी र उच्च माध्यमिक शिक्षालय सङ्घ हिसान सुनसरीको संयुक्त आयोजनामा माघ १२ गते देखी भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च माविहरूको सहभागिता रहेको सुनसरी जिल्ला फुटबल सङ्घका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
क्रिकेटको उपाधि विश्व आदर्शलाई
हिसान सुनसरीको स्पोर्ट मिट अन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि विश्व आदर्श कलेजले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा विश्व आदर्शले स्मलहेभन कलेजलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको स्मल हेभनले निर्धारित १२ ओभरको खेलमा ५ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । प्रतिउत्तरमा ८६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको विश्व आदर्शले १० दशमलव २ बलमा ५ विकेट गुमाउँदै जीत हात पारेको हो । माघ १३ गते देखी भएको क्रिकेट प्रतियोगितामा सुनसरीका  ११ वटा कलेजहरूको सहभागिता रहेको थियो ।