वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका धार्मिक क्षेत्रको रूपमा प्रसिद्ध क्षेत्र हो । ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेका धार्मिक सम्पदाहरू रहेको नगरपालिकामा दैनिक रूपमा देश विदेशबाट हजारौँ मानिसहरू पर्यटकको रूपमा आउने गर्दछन् । भारतको विहार प्रदेशसँग नजिकको दुरीमा र पहुँचमा रहेको वराहक्षेत्रमा त्यहाँबाट उल्लेखनीय रूपमा मानिसहरू तिर्थालु, व्रतालु तथा धार्मिक पर्यटकको रूपमा वराहक्षेत्र आउने गर्दछन् ।

वराहक्षेत्र नगरपालिकामा रहेको औलिया मठ क्षेत्र, वराहक्षेत्र मन्दिर र चतरा स्थित प्राचीन हरिद्वार चतराधाम कुम्भ मेला क्षेत्र धार्मिक पर्यटकहरूको मुख्य आकर्षणको केन्द्रको रूपमा रहेका छन् । यी क्षेत्रहरू धार्मिक मान्यता, अभिलेख, पुराण, विश्वाससँगै ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्वको हिसाबले सनातन जगतमा महिमा अपार रहेको छ ।

पछिल्लो समय यिनै धार्मिक सम्पदा क्षेत्रको संरक्षण, प्रवर्द्धन र सौन्दर्यीकरण गर्न नगरपालिका योजना बनाएर लागि परेको छ । स्थानिय सरकारले गर्न सक्ने काम पालिकाले गर्ने र माथिल्ला निकायहरूसँग योजनाहरू मागेर ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्वको हिसाबले प्रसिद्ध क्षेत्रको संरक्षण, प्रवर्द्धन र सौन्दर्यीकरणको काम गरिरहेको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीका अनुसार चालु आर्थिक वर्षमा बहुवर्षे योजना अन्तर्गत चतराको औलिया मठ र वराहक्षेत्र मन्दिर क्षेत्रमा सौन्दर्यीकरणसँगै संरचना निर्माण र कुम्भ परिसर क्षेत्रमा सौन्दर्यीकरणको काम भइरहेको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेको औलिया बाबा मठमा सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको २ करोड ४८ लाख बजेटबाट वाकवे, पार्किङ, धुनि, विवाह मण्डप, शौचालय, गेट आदी निर्माणाधीन अवस्थामा रहेका छन् । सोही क्षेत्रमा आगमि आर्थिक वर्षका लागि समेत सौन्दर्यीकरण तथा संरचना निर्माणमा पर्यटन विभागले काम गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । छिन्नामस्त मन्दिर संरक्षण समितिका अध्यक्ष प्रकाश राउतका अनुसार मठ क्षेत्रमा भएको कामले ओझेलमा परेको औलिया मठको प्रवर्द्धन र संरक्षणमा ठुलो राहत मिलेको छ । हाल यसको सौन्दर्यीकरणले स्वरूप नै परिवर्तन भएको उनी बताउँछन् ।

त्यस्तै धर्तीकै पहिलो र प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसरमा सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको  ३ करोडको बजेटबाट पार्किङ, सौन्दर्यीकरण,  ड्रेन, रेलिङ, प्रवेशद्वार लगायतका कामहरू निर्माणाधीन रहेका छन् । मन्दिर परिसर र बजार क्षेत्रमा भएको कामले मन्दिर प्रवेश क्षेत्रलाई आकर्षण बनाएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बताउँछन् । अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मन्दिर क्षेत्रलाई सौन्दर्यीकरण गर्न, व्यवस्थित तथा आकर्षण थप्न निर्माणाधीन योजना महत्त्वपूर्ण रहेको छ । यसका लागि नगर प्रमुख रमेश कार्कीले पहलकदमी गर्नु भएको उनको भनाई रहेको छ ।

सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका इन्जिनियर सचिन्द्र यादवका अनुसार औलिया मठ र वराहक्षेत्र मन्दिर क्षेत्रमा आगमि आर्थिक वर्षका लागि समेत सौन्दर्यीकरण तथा संरचना निर्माणमा पर्यटन विभागले काम गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।

त्यस्तै वडा नं १ प्राचीन हरिद्वार कुम्भ नगरी चतराधाममा कुम्भ परिसर तथा आरती स्थलमा सौन्दर्यीकरण,  ड्रेन, रेलिङ निर्माणको काम भइरहेको छ । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय, सहरी विकाश तथा भवन कार्यालय विराटनगर मार्फत सौन्दर्यकरण,  ड्रेन, रेलिङ निर्माणको काम भइरहेको छ । यसले कुम्भ परिसर र आरती क्षेत्रलाई सुन्दर तथा आकर्षण बनाउने जगद गुरु पिठमा सचिव उद्धव घिमिरे बताउँछन् ।

औलिया मठ, वराहक्षेत्र मन्दिर र कुम्भ परिसरमा निर्माणाधीन योजनाको नगर प्रमुख रमेश कार्की प्राविधिक सहित निरीक्षण गर्दै आएका छन् । यसले नगरपालिकालाई धार्मिक क्षेत्रको रूपमा थप विकास गर्न सहयोग, पर्यटनलाई आकर्षण, धार्मिक क्षेत्रको संरक्षण, प्रवर्द्धन र सौन्दर्यीकरण, धार्मिक क्षेत्रको विकाससँगै आगमि वर्ष कोशी प्रदेश सरकारले आयोजना गर्ने भ्रमण वर्षलाई आकर्षण गराउन सहयोग पुग्ने नगर प्रमुख कार्कीले बताए ।

Barhaxetra-saundaryikaran-1

Barhaxetra-saundyikaran-2