धरान : धरान-१ लक्ष्मी सडकका ८४ वर्षीय धनञ्जय आचार्यले उनको माता-पिताको स्मृतिमा वार्षिक उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न कुल १ लाख ४२ हजार रुपैयाँको कोष कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नाममा स्थापना गर्ने सम्झौता गरेका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक राजन अधिकारी तथा आचार्य बिच आज शनिवार धरान-१ स्थिति आचार्यको निवासमा कोष स्थापना गर्ने लिखित सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कोषबाट वार्षिक रूपमा प्रदान गरिने पुरस्कारको नाम ‘देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार’ रहने सम्झौतापत्रमा उल्लेख छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उक्त पुरस्कार कोशी प्रदेशका १४ वटै जिल्लामा वर्ष भरिमा प्रहरीको विविध कार्यहरूमा अति उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रदान गरिने छ ।

छनौट भएका मध्ये उत्कृष्ट २ जना महिला र उत्कृष्ट २ जना पुरुष गरी बढीमा ४ जना प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिने छ । तर सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई जनही ३५ हजार ५ सयका दरको पुरस्कार रहने छ ।

पुरस्कार प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा प्रतिनिधिद्वारा नगद पुरस्कार प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता कार्यक्रममा पुरस्कारदाता धनन्जय आचार्यले समाजमा शान्ति सुव्यवस्था कायम राख्न जस्तो सुकै चुनौतीपूर्ण परिस्थितिमा पनि अहोरात्र खटिई कार्य गर्ने व्यवसायीक प्रहरी कर्मचारीहरूको मनोबल र उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले कोष स्थापना गरिएको बताए ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देवकुमारी-शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्ने आफ्नो इच्छा रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले आफ्नो घर परिवार नभनी अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोबल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न पुरस्कार कोष स्थापनाको सम्झौता गरेकोमा आचार्य तथा परिवारमा आभार प्रकट गरेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगु, धरान-१ का अध्यक्ष यज्ञमणी आचार्य लगायत उपस्थित थिए ।

KKoshi-pradesh-utkrista-pra