धरान : भारतीय टिम युनाइटेड खर्साङ फुटबल क्लबसँग सडनडेथमा पराजित भएपछि आयोजक धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
टाईब्रेकर पनि ५-५ गोलको बराबरमा टुङ्गिएकोले खेलको निर्णय सडनडेथमा गरिएको हो ।
सडनडेथमा धरानले ५ गोलको विरुद्ध खरसाङले ६ गोल गरेर सेमिफाइनलमा प्रवेश गरेको छ । धरान फुटबल क्लबका मनोज राईको प्रहार पोस्ट माथीबाट बाहिरिएपछि खर्साङले गोल्डकपको सेमिफाइनलको यात्रा तय गरेको हो ।
यसअघि खेलको १७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै हेमराज भुजेलले खर्साङलाई अग्रता दिलाएका थिए । नयन प्रधानले प्रहार गरेको पावर सट धरानका गोल किपर प्रवीण लिम्बूले रोकेपछि रिबाउण्डमा भुजेलले उत्कृष्ट गोल गरे ।
खेलको ४४ औँ मिनेटमा धरानका विनोद राईले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा पुर्याएको थिए । मैदानको बिच भागबाट बल अघि बढाउँदै उनले गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको धरानले गोल गर्न नसक्दा पराजित हुन पुग्यो । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको धरानले दोस्रो हाफमा गोल गर्ने अवसर धेरै गुमाएको थियो ।
दोस्रो हाफको ११ औँ मिनेटमा मनोज राईले मिलाइदिएको क्रस पासलाई डिबक्स भित्रबाट तपन कार्कीले गोल गर्न चुके । २३ औँ मिनेटमा कार्लोसले दिएको पासलाई विवेक राईले हेड गोल गर्न चुके । खेलको म्यान अफ द म्याच खर्साङका हेमराज भुजेल घोषित भए ।
उनलाई नगद १० हजार पुरस्कार प्रदान गरियो । टाईब्रेकरमा धरानका दोर्जे तामाङ, विवेक राई, सुम जिमी, कार्लोस सम र बाफोरले गोल गरे । सडनडेथमा धरानका प्रज्वल थापाले गोल गरे भने मनोज राईको प्रहार आकासिएको थियो ।
टाई ब्रेकरमा युकेएफसीका विशाल क्षेत्री, सदिस राई, श्रीजल राई, रुस्तम प्रधान र राज राउतले गोल गरे । सडनडेथमा आकाश प्रधान र हेमराज भुजेलले गोल गरेका थिए ।
बुढासुब्बा गोल्डकपको भोली सोमबारको खेल इटहरीको राजा क्लब र भुटानको आरटिसी बिच दिनको ३ बजे हुनेछ । धरान रङ्गशालामा जारी २५ औँ गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।