धरान : अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप २५औँ संस्करणको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड १-० गोलले पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रङ्गशालामा शनिवार भएको भएको खेलमा चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औँ मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे ।
खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिस्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन ।
पहिलो हाफ बराबरी खेलेको पुलिसले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो । तुलनात्मक रूपमा चर्च ब्वाइजले पहिलो हाफ भन्दा राम्रो प्रदर्शन गरेको थियो ।
पहिलो हाफको १० औँ मिनेटमा पुलिसका राम वजीले डिबक्सबाट प्रहार गरेका बल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको १९ औँ मिनेटमा सन्जित लामाको पासमा विवेक पाण्डेले प्रहार गरेको बल चर्च ब्वाइजका गोल किपरले मुस्किलले पञ्च गरेका थिए ।
चर्च ब्वाइजका समीर तामाङले खेलको २४ औँ मिनेटमा प्रहार गरेको बल गोल किपर सञ्जीव श्रेष्ठले मुस्किलले बचाएका थिए । खेलको ७० औँ मिनेटमा चर्च ब्वाइजका दीपेश गुरुङले मिलाइदिएको लामो पासलाई समीर तामाङले डिबक्सबाट गोल गर्न चुके ।
माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको भव्य उद्घाटन
आयोजक धरान फुटबल क्लबले प्रतियोगिता २५ औँ संस्करण पुगेको रजत उत्सवको अवसरमा उद्घाटन समारोह भव्य रूपमा गरेको थियो ।
सशस्त्र प्रहरी बैण्ड, धरानका विद्यालयहरूका विद्यार्थी, नेपाल स्काउट, राष्ट्रिय सेवा दलको समूहले मार्च पास गरेको थियो । जातीय सांस्कृतिक समूहका ८० सहभागी सामूहिक नृत्य प्रदर्शन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्णबहादुर बस्नेतले गरेका थिए । कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई विशेष अतिथि थिए ।
भोलिको खेल आयोजक धरान फुटबल क्लब र युकेएफसि भारतका बिच हुनेछ ।