धरान : धरान रङ्गशालामा जारी २५औँ बुढासुब्बा गोल्डकपको आज सोमवार भएको खेलमा शानदार जित निकाल्दै भुटान रोयल थिम्पु कलेज सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटान ४-१ गोलले इटहरीको राष्ट्रिय जागृति क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

भुटानको प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलमा भुटानले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो ।

दोस्रो हाफको ७औ मिनेटमा सोनाम जुगद्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए ।

दोस्रो हाफको १४ औँ मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३-० को स्थितिमा पुर्‍याएका थिए ।

कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दीप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो ।

दोस्रो हाफको २५औँ मिनेटमा सोनाम योसेको पासमा नयन्दा योसेले गोल गर्दै टिमको जित निश्चित गरे ।

खेलको म्यान अफ द म्याच भुटानका भुटानका सोनाम योसे घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारीरिक रूपमा बलियो देखिन्थ्यो । मैदानमा भुटानका युवा खेलाडीले इटहरी भन्दा राम्रो खेल प्रदर्शन गरेका थिए ।

इटहरीले दोस्रो हाफको ३२ औँ मिनेटमा इटहरीका आलेक्सले सान्त्वना गोल फर्काएका थिए । उनले विपक्षी गोल किपरलाई फ्लीक गर्दै गोल गरेका थिए ।

भोलीको अन्तिम क्वाटर फाइनल खेल साबिक विजेता काठमाडौँको न्युरोड टिम एनआरटी र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बिच खेल हुने आयोजकले जनाएको छ ।