इटहरी : रानी-विराटनगर-इटहरी-धरान सडक आयोजना अन्तरगत ६ लेन सडक विस्तारको काम धमाधम भइरहेको छ । ६ लेन सडकको दुहबी बजार खण्डमा रोकिएको विस्तारको काम सुरु हुने भएको हो ।
रानी देखि धरानसम्मको ४९ किलोमिटरमध्ये ४२ किलोमिटर कालोपत्रे भइसकेको छ । दायाँ-बायाँ २५/२५ मिटर कायम हुनुपर्ने प्रावधान भन्दा फरक दुहबी बजार क्षेत्रमा १४.२३ मिटर कायम हुने गरी घर टहरा हटाउन सूचना प्रकाशित भएको छ ।
तत्कालीन राजमार्ग निर्माण व्यवस्था ऐन २०२१ अनुसार राजमार्ग घोषणा, सडक ऐन २०३१ अनुसार सडक केन्द्रबाट दायाँ-बायाँ २५/२५ मिटर र ६/६ मिटर ‘सेट ब्याक’ गरी कुल ६२ मिटरको मापदण्ड राखिएको छ । दुहबी बजारको हकमा २०५४ चैत ३० (राजपत्रका प्रकाशित) सूचनाको आधारमा सडक विस्तार गर्न लागिएको हो । सेटब्याक ६/६ मिटर कायम रहने गरी बजार क्षेत्रको ६३० मिटर दुरीमा दायाँबायाँ ८.२३/८.२३ सडक निर्माण हुने भएको छ ।
उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले सोमबार सूचना प्रकाशित गर्दै २०५४ मा तय भएको सडक सीमा भित्रका संरचना खाली गराउन आग्रह गरेको हो । ६ लेन सडक योजना इटहरीका इन्जिनियर तथा सूचना अधिकारी दुर्गा मण्डलले लामो समयदेखि चलिरहेको विवाद समाधान भएको र दुहबी क्षेत्रमा केही महिना भित्रै निर्माण सम्पन्न गर्ने गरी तयारी भएको बताए । ३० दिने सूचना प्रकाशित गइएको र आयोजनाले ठेक्का लगाइसकेको हुँदा घर टहरा भत्किएपछि धमाधम काम हुने उनले जानकारी दिए ।