विराटनगर :विराटनगर बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजनाका लागि सिद्धार्थ बैङ्क लिमिटेडले पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

महानगरको सौन्दर्यीकरणका लागि क वर्गका बैङ्कले सामाजिक उत्तरदायित्व स्वरूप २ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । दोस्रो चरणमा बाँकी रकम उपलब्ध गराउने बैङ्कले जनाएको छ ।

मेयर नागेश कोइरालालाई बिहीबार बैङ्कका प्रदेश प्रमुख कमल बस्नेत, विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा, बजार व्यवस्थापक समीक्षा पोखरेलले चेक हस्तान्तरण गरेका हुन ।

विराटनगरमा ३ सहित कोशी प्रदेशमा सिद्धार्थको ३० वटा शाखा छन् । महानगरपालिकाले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित बनाउने अभियानमा बरगाछी–रानी सडक सौन्दर्यीकरण परियोजना अगाडि बढाएको छ ।

परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको परियोजनाको सहजीकरण गरिरहेका पुनमकुमार दाहालले बताए ।

सिद्धार्थ बैङ्कसहित १६ वटा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट २९ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।

यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैङ्क, ग्लोबल आइएमई, कुमारी बैङ्क, सानिमा बैङ्क, कृषि विकास बैङ्क, एनएमवी बैङ्क, स्टान्डर्ड चार्टर्ड बैङ्क, एसवीआई बैङ्क, हिमालयन बैङ्क, नविल बैङ्क, लक्ष्मी सनराइज, सिटिजन बैङ्क, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरेका छन् ।

बरगाछी–रानी सडकमा हाल तार जाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । रोड शेष चोक दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मका सबै डिभाइडरमा तार जाली लगाएर फूल र बिरुवा रोपिएको छ ।

बरगाछी–रानी सडक खण्ड स्थित ४६ वटा डिभाइडरमध्ये ३६ वटामा काम सकिएको छ । मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आएका छन् ।