धरान : यलम्वर क्लबको आयोजनामा आयोजित दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेसले चुमेको छ ।

बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा झुनाज फिटनेसले युवा जागृति क्लबलाई ६०/५२ अङ्कले पराजित गर्दै दोस्रो संस्करणको उपाधि माथि कब्जा जमाएको हो ।

खेलको पहिलो क्वाटरमा ९/१८ अङ्कको अन्तरले झुनाज फिटनेस पछि परेका थिए । दोस्रो र तेस्रो क्वाटरमा झुनाजले २०/ १३ र १७/६ अङ्कको अग्रता बनाउँदै खेलमा फर्किएका थिए ।

चौथो क्वाटरमा भने युवा जागृतिले १५–१४ अङ्कको अग्रता बनाएका थिए ।

झुनाज फिटनेस उपाधि सँगै नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसै गरी उपविजेता युवा जागृति क्लबले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसै गरी प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि झुनाज फिटनेसका सर्व धन राई घोषित भए । उनले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत २२ अङ्क समेत जोडेका थिए ।

उनले उपाधि सँगै नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । फाइनल म्याचको म्यान अफ द म्याच युवा जागृतिका कैलाश लिम्बु घोषित भए ।

उनले नगद ५ सय, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष किरण लिम्बु, प्रमुख अतिथि कोसी प्रदेश माननीय विजयकुमार राई, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, नेपाल बास्केटबल सङ्घ केन्द्रीय सदस्य रोशन राई, धरान ८ हङकङ समाजका सचिव भीम राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

माघ १८ गते देखि सुरु भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएको थियो । यलम्वर खेल मैदानमा सम्पन्न प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको थियो । पहिलो संस्करणमा आयोजक यलम्वर क्लबले उपाधि जितेका थिए भने तरहरा बास्केटबल टिम उपविजेता रहेको थियो ।