धरान : भोली शनिवार हुने फाइनल खेलमा २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधिका लागि एनआरटी र लिग च्याम्पियन चर्च ब्वाईज क्लबबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रवार रङ्गशालामा पत्रकार सम्मेलनमा फाइनलमा पुगेको दुवै टिम एनआरटी र चर्च ब्वाईज क्लबले गोल्डकप उपाधि चुम्ने दाबी गरेका छन् । बुढासुब्बा गोल्डकपको १०औँ संस्करण र २४औँ संस्करणको उपाधि उचालेको एनआरटीले २५औँ संस्करणमा आइपुग्दा दोस्रो पटक उपाधि नजिक पुगेको हो भने लिग च्याम्पियन चर्च ब्वाईज क्लब पहिलो पटक फाइनलमा पुगेको छ ।

एनआरटी गत वर्षको बुढासुब्बा गोल्डकपको विजेता क्लब हो । पाहुना टोली युनाइटेड खर्साङ क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटीले तेस्रो पटक उपाधि उचाल्ने दाबी गरेको छ । एनआरटीले भोली धरान रङ्गशालामा हुने फाइनल खेलमा राष्ट्रिय खेलाडी अन्जान विष्ट मैदानमा उतार्ने भएको छ ।
एनआरटिले यो सिजन मङ्सिर यता मात्र चर्च ब्वाइजसँग २ पटक फाइनल भिडेको छ भने धरानमा तेस्रो पटक फाइनलमा भिडदैछ । मङ्सिर यता चर्च ब्वाइजले ४ वटा प्रतियोगिताको फाइनल खेलिसकेको छ । त्यसमा झापा कप र फाल्गुनन्द गोल्डकप जितेको थियो। इलाम गोल्डकप र सिक्किमका गभर्नस गोल्डकपमा दोस्रो भएको थियो ।
मङ्सिरमा इलाम गोल्डकपको फाइनल एनआरटीले चर्च ब्वाइजलाई ३-० ले हराएको थियो, त्यसपछि भएको झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३-१ ले हराएको थियो । ४ मध्ये २ वटा फाइनल चर्च ब्वाइज र एनआरटीले एक अर्कामा भिडेका थिए । एनआरटिले यो सिजनमा ४ वटा प्रतियोगितामा सहभागी भइसकेकोले पनि फाइनल खेलमा प्रतिस्पर्धा गर्न सहज हुने टिम म्यानेजर श्याम मालीले बताए ।
म्यानेजर माली राष्ट्रिय खेलाडी अन्जान घाइते भनी अन्जानले खेल स्वकार गरेमा फिल्डमा उतार्ने बताए । उनले खेलको अनुभवलाई फुटबल प्रतिस्पर्धाको रणनीतिमा फिल्डमा उतार्दै उपाधि चुम्ने दाबी रहेको बताए ।
एनआरटिमा २ जना विदेशी खेलाडी रहेको म्यानेजर मालीले बताए । यता, चर्च ब्वाइज यस अघि नै भुटान प्रिमियर लिग तालिकाको चौथो स्थानमा रहेर लिग खेलिरहेको रोयल थिम्पु कलेज आरटिसीलाई ७-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइज उपाधि जितेर इतिहास बनाउने आत्मविश्वास रहेको टिम कोच सुमन श्रेष्ठले बताए । उनका अनुसार ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको चर्च ब्वाइजको लागि एनआरटीलाई कडा प्रतिस्पर्धीको रूपमा ग्राउन्डमा सामना गर्ने तयारी गरिएको छ ।
धरान फुटबल क्लबको आयोजनामा शनिवार धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।